उत्तर कोरियामा ‘स्क्विड गेम’ चोरेर हेर्नेलाई मृत्युदण्ड।

सोउल (उत्तर कोरिया):= उत्तर कोरियामा चर्चित नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’ चोरेर हेर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ । रेडियो फ्री एसियाका अनुसार दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ अवैध रूपमा तस्करी गरेर ल्याएर अन्य विद्यार्थीलाई पनि देखाएको हुनाले ती व्यक्तिलाई उत्तर कोरियाको सरकारले मृत्युको सजाय दिएको हो ।

ती व्यक्तिले सिरिजको कपी चीनबाट युएसबी फ्ल्यास ड्राइभमा राखेर ल्याएका थिए । आफूले ल्याएको सिरिज उनले एक विद्यालयका ६ विद्यार्थीलाई पनि हेर्न दिएको बताइएको छ । तिनै विद्यार्थीले सिरिज हेरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको हो ।

हाल प्रहरीको हिरासतमा रहेका ६ विद्यार्थीलाई भने पाँच वर्षको कडा परिश्रमको सजाय दिइएको छ । त्यस विद्यालयका शिक्षक र प्रशासकलाई बर्खास्त गरेर दुर्गम खानीमा काम गर्न निष्काशन गरिएको रेडियो फ्री एसियाले जनाएको छ ।

सन् २०२० को डिसेम्बरमा उत्तर कोरियाली सरकारले ‘प्रतिक्रियात्मक विचार र संस्कृति उन्मूलन’ ऐन पारित गरेको थियो । यो ऐनले देशमा चलचित्र, नाटक, संगीत र पुस्तकहरू जस्ता सांस्कृतिक सामग्रीको प्रवेश र प्रसारलाई निषेध गर्छ । यो कार्य मुख्यगरी दक्षिण कोरियाली र अमेरिकी मिडियाको प्रसार रोक्न गरिएको हो । यदि उत्तर कोरियामा कसैले यस्ता सामग्री वितरण वा उपभोग गरे कारबाही हुने नियम छ ।

केही रिर्पोटका अनुसार यसै वर्षको अप्रिल महिनामा एक व्यक्तिलाई दक्षिण कोरियाको मनोरञ्जन सामग्री भएका ड्राइभ र सिडिहरू बेचेको आरोपमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो । अझ ‘स्क्विड गेम’ले विशेषगरी तानाशाही देशमा हंगामा मच्चाएको छ । केहीले यो सिरिजको कथा उत्तर कोरियाली समाजको दुःखद् वास्तविकताको रूपमा चित्रण गरेका छन् । यो चीनमा पनि उपलब्ध छैन, तर यो देशभर पाइरेट भएको छ ।

‘स्क्विड गेम’ सन् २०२१ मा रिलिज भएको सिरिज हो । यो सिरिजले दक्षिण कोरियाको गरिबीमा दर्शाउँछ र कसरी मानिसहरू पैसाका लागि एक अर्कालाई मार्नसमेत तयार हुन्छन् भन्ने विषयमा घुमेको छ । यो नेटफ्ल्क्सिको हालसम्मकै बढी हेरिएको सिरिजमा पर्छ । यसको चर्चा संसारभरका ९४ देशमा छ ।