काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार साँझसम्म ३९ जिल्लाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको परिणामअनुसार सभापति शेरबहादुर देउवा भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू बढी देखिएका छन् ।
अहिलेसम्म संस्थापन पक्षका जिल्ला सभापतिहरू १७ जिल्लामा देखिएका छन् । यस्तै, २१ जिल्लामा इतर अर्थात् पौडेल पक्षका सभापतिहरू देखिएका छन् । एक जिल्लाको खुलेको छैन ।
पौडेल पक्षले दाबी गरेका मध्ये जाजरकोटका वेदराज सिंह र रुकुम पश्चिमका प्रेमप्रकाश वलीलाई संस्थापन पक्षले पनि आ-आफ्नो समूहको भएको दाबी गरेको छ । तर, उहाँहरू सर्वसम्मतिबाट निर्वाचित भएकाले कसैको पक्षमा पनि खुल्न चाहनुभएको छैन ।
देउवा पक्षका निर्वाचित जिल्ला सभापतिहरू
ऐनबहादुर शाही मुगु, खमवी गर्बुजा म्याग्दी, केशबहादुर विष्ट सल्यान, रूपनारायण जबेगु पाँचथर, शंकर गुरुङ मनाङ, खड्क बोहरा बझाङ, गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, मोहनविक्रम सिंह हुम्ला र कान्छाराम तामाङ रामेछाप हुनुहुन्छ ।
यसैगरी, नरेन्द्रबहादुर सिंह डोटी, भीमबहादुर साउद, डडेल्धुरा, रामकृष्ण खाँण रुपन्देही, दीपेन्द्रबहादुर शाही डोल्पा, कर्णबहादुर शाही, जुम्ला, तेजेन्द्र खनाल, ओखलढुंगा डा. टकराज गुरुङ लमजुङ र डम्बर खड्का इलाम हुनुहुन्छ ।
पौडेल पक्षका निर्वाचित जिल्ला सभापतिहरू
अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विनोद बान्तवा भोजपुर, केशव श्रेष्ठ अर्घाखाँची, चतुरबहादुर चन्द बैतडी, बर्मा लामा दोलखा, विष्णु राई खोटाङ, हिमालदत्त श्रेष्ठ पाल्पा, राजु थापा स्याङ्जा र किशोर आचार्य रोल्पा हुनुहुन्छ ।
त्यसैगरी, विष्णुकुमार गिरी प्युठान, रोमी गौचन थकाली मुस्ताङ, केशरमान रोका रुकुम पूर्व, दीपक खड्का संखुवासभा, नन्दप्रसाद न्यौपाने गोरखा, अम्मबहादुर शाही कालीकोट, रामसिंह रावल बाजुरा र प्रेमप्रकाश ओली रुकुम पश्चिम हुनुहुन्छ । त्यस्तै, वेदराज सिंह जाजरकोट, अर्जुनकुमार पोखरेल नवलपरासी पश्चिम र ललितसिंह बोहरा दार्चुला हुनुहुन्छ ।
नुवाकोटको सभापतिमा रमेशकुमार महत निर्वाचित हुनुभएको छ । शुक्रबार भएको मतदानमा केदारनरसिंह केसीलाई पराजित गर्दै महत विजयी हुनुभएको हो। यस्तै, ललितपुरमा फेरि मतदान हुने भएको छ । रामकृष्ण चित्रकारले अग्रता लिए पनि ५१ प्रतिशत मत नल्याएका कारण पुनः मतदान हुने भएको हो ।
गुल्मीमा मतदान प्रक्रिया रोकियो
गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उम्मेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि प्रक्रिया रोकिएको हो ।
थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिनुभएको थियो । मुसिकोटबाहेक अरू स्थानीय तहको मतदान भने सकिएको छ । उम्मेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरु हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।
जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदीश भट्टराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिनुभएको छ । सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भीम न्यौपानेले बताउनुभयो ।
निर्वाचन प्रक्रिया २१ गते सुरु हुने
कांग्रेसले पार्टीको महाधिवेशन सुरु हुनुअघि नै निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ । २४ मंसिरमा महाधिवेशनको औपचारिक उद्घाटन हुने कार्यक्रम भए पनि निर्वाचनको प्रक्रिया भने २१ गतेबाट नै सुरु हुने भएको हो ।
त्यसअघि सबै जिल्लाको क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ ।
२२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । तर, निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन ।
यसको टुंगो मंसिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
प्रचार समितिले पायो पूर्णता
नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पाएको छ । गत कात्तिक २८ गते केन्द्रीय समिति बैठकले विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले शनिबार पूर्णता पाएको हो ।
समितिमा केन्द्रय कार्यसमिति सदस्यहरू जीवन परियार, किरण गिरी, किरण यादव र अमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक पताप शाह, जनकराज कलौनी र दिलीप राई हुनुहुन्छ ।
यस्तै, सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी सदस्यहरू, भ्रातृसंस्थाका अध्यक्षहरू सदस्य रहने कांग्रेसले जनाएको छ । त्यसैगरी, जनसम्पर्क समितिका अध्यक्ष र संयोजक, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी र सदस्य सदस्य रहनेछन् ।
यस्तै, प्रेस युनियनका पूर्व–केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहेका छन् ।
प्रचार विभागको सचिवालयका रूपमा उपत्यकाभित्र रहेको पदाधिकारी, सदस्य र प्रेस युनियन केन्द्रीय सचिवालयका सदस्य रहने सचिव प्रकाश शर्माले बताउनुभयो ।




















