पाकिस्तानको ऋण ३० हजार खर्ब नाघ्यो : देश चलाउन समस्या भइरहेकाे छ: इमरान खान।

एजेन्सी := पाकिस्तान देश अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताउनुभएको छ । उहाँले देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भइरहेको बताएको समाचार संस्था एनडीटीभीले जनाएको छ।

उहाँले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता जनाउनुभएको खबरमा उल्लेख छ । पाकिस्तानमा जम्मा ३० लाख जनाले मात्रै कर तिर्ने गरेको र त्यसमा पनि १० लाख जनाले निकै कम मात्रामा आम्दानी देखाएर कर छल्ने गरेको पाइएको छ । पाकिस्तानमा डेढ करोड नागरिक कर तिर्न योग्य भए पनि सरकारले करको दायरामा ल्याउन नसकेको खबरमा उल्लेख छ।

यो अवस्था आउनुमा अघिल्लो सरकारका प्रधानमन्त्री नवाज सरिफ मुख्य जिम्मेवार रहेको प्रधानमन्त्री खानको आरोप छ । पछिल्लो १० वर्षमा मात्रै पाकिस्तानको ऋण ६ हजार खर्बबाट बढेर ३० हजार खर्ब पुगेको छ।