प्रचण्डसँग होसियार रहन कांग्रेसलाई केपी ओलीले दिए सुझाव।

चितवन := अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डबाट बच्न कांग्रेसलाई आग्रह गर्नुभएको छ । उहाँले प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई आग्रह गर्दै भन्नुभयो, ‘प्रचण्डले कांग्रेसलाई बिगार्न पछि लागेका छन् ।’ ओलीले आफूहरूलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोइटो लिएर कुँद्ने त्यस्ताहरूको पछि लागेर देश बन्छ ? प्रचण्डले सधैँ समस्या खडा गर्ने । हामीलाई बिगार्न खोजेका थिए । नबिग्रिने देखेपछि टाप । का बिग्रन्छ एमाले ? अब कांग्रेसलाई समातेछ । म कांग्रेसलाई चेतावनी दिन चाहन्छु-कांग्रेस होसियार । प्रचण्डले भ्याई दिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्नसमेत आग्रह गर्नुभयो । ओलीले माओवादी र नेकपा एसलाई कांग्रेसले सधैँ बोकेर नहिँड्ने पनि बताउनुभयो । कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी र नेकपा (एस)लाई पन्छ्याएर अघि बढ्ने उहाँको दाबी छ ।

ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गर्नुभएको हो । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन ।’