‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी।

जनकपुरधाम:= राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रंगशालाको समुदघाटन गर्नुभएको छ । उहाँले सोमबार एक कार्यक्रमबीच उक्त रंगशालाको समुदघाटन गर्नुभएको हो ।

रंगशाला समुदघाटनपछि सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभयो । उहाँले जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महŒवका रहेका र यसक्षेत्रमै महिला हिंसा हुनु दुःखद रहेको बताउनुभयो । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासीनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना पनि गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गर्नुभएको थियो ।

जलेश्वरनाथ महादेवको मूलगुफा जमिनको सतहदेखि १६ सिँढीमुनि जमिनभित्र रहेको छ । त्यस अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मूलपूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो ।