एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा, सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा धक्का!

काठमाडौं:= नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना पूरा नहुने देखिएको छ ।

आगामी मंसिर १० देखि १२ सम्म चितवनमा एमालेको १०औँ महाधिवेशन हुँदैछ । रावलले पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न चाहे पनि महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालय खाली नरहेको जानकारी गराएपछि आफूले अन्यत्रबाटै उम्मेदवारी घोषणा गर्नुपरेको बताउनुभयो ।

पार्टी अध्यक्षको जिम्मेवारी लिन १२ उद्देश्य र १५ मान्यता अघि सार्दै रावलले आफ्नोे उम्मेदवारीमाथि भरोसा राख्न र सद्भाव दर्शाउन ओलीसहित नेता तथा प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै, रावलले आफूले उम्मेदवारी दिनुको निष्कर्ष सुनाउँदै भन्नुभएको छ, ‘सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमका लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु ।

मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइरहन अघि बढ्ने संकल्प गरेको छु । यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्ताबेजमा उल्लेखित र अनुल्लेखित वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा ०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले)को १०औँँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

उपाध्यक्ष रावलले नेकपा (एमाले)को १०औँं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसंगठित र समयका चुनौतीहरूको सामना गर्न सक्ने गरी क्रियाशील तुल्याउन महŒवपूर्ण रहेको बताउनुभयो । उहाँले कोरोना महामारी (कोभिड-१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो बेरोजगारी, महँगी जस्ता समस्यासँग जुझ्नको लागि देशका सामु ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो । उपाध्यक्ष रावलले पार्टी अध्यक्ष ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोपसमेत लगाउनुभयो ।

सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल

एमाले अध्यक्ष ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक भएको बताउनुभएको छ । अध्यक्ष ओलीले भूगोल, प्रकृति अनुकूल भएकाले नेपालले खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । पार्टीनिकट नेपाल खेलकुद महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’मा बोल्दै उहाँले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले लिएको खेलकुद नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्ने बताउनुभयो । एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दाबीसमेत गर्नुभयो ।

उहाँले नीति सही भए पनि त्यसको कार्यान्वयन नहुँदा ‘पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेला काम लाग्दैन’ भन्ने संस्कृतिको उखान जस्तो हुन पुग्नेतर्फ पनि सचेत गराउनुभयो । अध्यक्ष ओलीले खेलका तरिका र शिक्षाहरूलाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरूलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रका विज्ञहरूसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासंघका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । उहाँले खेलाडीहरूको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरूको संख्या बढाउन जोड दिनुपर्ने बताउनुभयो ।