[ डिबी शर्मा ]
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्वका आकांक्षीहरू एकले अर्कोलाई मनाउने कसरतमा लागेका छन् । महाधिवेशनको मिति नजिकिएसँगै नेताहरू एक-अर्कालाई मनाउने कसरतमा लागेका हुन् । यसमा खासगरी संस्थापनइतर समूहका नेताहरू सक्रिय छन् । संस्थापइतरमा सभापतिका आकांक्षी नेताहरू आफ्नो पक्षमा सहमति जुटाउन एकल र समूहगत छलफलमा व्यस्त छन् ।
संस्थापनइतर समूहबाट नेता रामचन्द्र पौडेलसहित, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुनुहुन्छ । इतर समूहबाट साझा उम्मेदवार छान्ने घोषणा गरेका नेताहरू पछिल्लो समय सामूहिकभन्दा एकल रूपमा एकले अर्कोलाई मनाउने कसरतमा लागेका हुन् । समूहबाट सबै आकांक्षीले एकले अर्कोलाई उम्मेदवार नस्वीकारेपछि उनीहरू एक्लाएक्लै मनाउने कसरतमा लागेका हुन् । समूहका चारैजनाले आ-आफ्नो दाबी छोडेका छैनन् ।
यही क्रममा शुक्रबार नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच भेटवार्ता भएको थियो भने शनिबार महामन्त्री शशांक कोइराला र नेता सिंहबीच भेटवार्ता भएको छ । यसअघि नेता रामचन्द्र पौडेर र सिंहबीच पनि भेटवार्ता भएको थियो । यता, कोइराला परिवारका आकांक्षीद्वय शशांक र शेखरबीच पनि भेटवार्ता भएको थियो । प्रायः सबैजसो भेटमा नेताहरूले एकले अर्कोलाई सघाउन आग्रह गरिरहेको उनीहरू निकटस्थहरू बताउँछन् ।
प्याकेजमा सहमति खोज्ने प्रयास
एकले अर्कोलाई सहमति नदिने देखिएपछि नेताहरू प्याकेजमै सहमति खोजिरहेका छन् । सुरुमा गतसाता बसेको इतरसमूहको भेलामा नेता पौडेलले आफू आगामी निर्वाचनसम्म मात्रै नेतृत्वमा बस्ने त्यसपछि हस्तान्तरण गर्ने प्रस्ताव गर्नुभएको थियो । निर्वाचन सम्पन्न भएपछि नेतृत्व हस्तान्तरण गर्ने नेता पौडेलको भनाइ थियो । तर, पौडेलको प्रस्तावमा पनि कसैले सहमति जनाएनन् । उक्त बैठकमा नेता सिंह भने अनुपस्थित हुनुहुन्थ्यो ।
त्यसपछिका प्रायः सबै बैठकमा नेताहरूले एक-अर्कासँग प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । शुक्रबार नेता सिंहले आफूलाई सभापतिमा सघाउन नेता शेखर कोइरालासँग आग्रह गर्नुभएको थियो । आगामी महाधिवेशनमा सिंह र कोइराला दुवै सभापतिका आकांक्षी हुनुहुन्छ । सिंहनिकट एक नेताका अनुसार त्यसका लागि कोइरालालाई अरू कुनै ठाउँमा व्यवस्थापन गर्न सकिने विकल्प नेता सिंहले दिनुभएको थियो । त्यो भनेको नेता सिंहले पार्टी र कोइरालाले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने प्रस्ताव गर्नुभएको थियो ।
तर, कोइरालाले सिंहको प्रस्तावमा कुनै प्रतिक्रिया जनाउनुभएन । फेरि भेट्ने सहमति गरेर दुवै नेता बाहिरिनुभयो । शनिबार नेता सिंह र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । नेता सिंहलाई भेट्न महामन्त्री कोइराला शनिबार दिउँसो चाक्सीबारीस्थित सिंहको निवासमा पुग्नुभएको थियो । दुई नेताबीच साझा उम्मेदवार छनोटका विषयमै छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नेता सिंहले शेखरजस्तै महामन्त्री शशांक कोइरालालाई पनि सभापतिमा आफूलाई सघाउन आग्रह गर्नुभएको थियो ।
भेटमा शशांकले प्रकाशमानबारे यसअघि दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्नुभएको बताइएको छ । केहीदिन अघि शशांकले प्रकाशमान काठमाडौंमै घेरिएरको आरोप लगाउँदै बाहिर नचिन्ने टिप्पणी गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘प्रकाशमानको बारेमा भन्दा नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौंबाहिर निक्लिनेबित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन् ।’ यो टिप्पणीको नेता सिंहले पनि कडा जवाफ फर्काउनुभएको थियो ।
नेता सिंहसँग मात्रै होइन कोइराला दाजुभाइबीच पनि को उम्मेदवार बन्ने सहमति सार्वजनिक भएको छैन । सोमबार शशांक कोइरालाले ‘शेखर दा’ले आफूलाई मनाइहाल्ने बताए पनि सहमति सार्वजनिक हुन सकेन । सहमति सार्वजनिक गर्न आयोजना गर्ने भनिएको पत्रकार सम्मेलनसमेत अन्तिम समयमा आएर स्थगित भएको थियो। यसबाहेक वर्तमान सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दोहोरिने आकांक्षा राख्नुभएको छ ।
उहाँले पनि इतरसमूहका नेतालाई मनाउने प्रयास गरिरहेको बताइन्छ । उपसभापति विमलेन्द्र निधि पनि सभापतिको आकांक्षीको दौडमा हुनुहुन्छ । यसबाहेक नेता गोपालमान श्रेष्ठ, कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । महाधिवेशनअन्तर्गत अहिले प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन चलिरहेको छ । शुक्रबारबाट सुरु भएको अधिवेशन सकिने चरणमा छ । मंसिर २४-२६ गते कांग्रेसले काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्दैछ ।
मतगणनास्थलमै दुई समूहबीच कुटाकुट
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा रूपन्देहीको भैरहवामा दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । रुपन्देहीको प्रदेशसभा निर्वाचन क्षेत्र ३ (१)अधिवेशनको मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति दुई समूहबीच झडप भएको थियो । संस्थापन पक्ष र इतरसमूहका नेता–कार्यकर्ताबीच झडप भएको हो । महाधिवेशनमा दुवै पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
मतगणनाका क्रममा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठले अग्रता लिएपछि झडप भएको दाबी गरिएको छ । झडपमा पौडेल पक्षबाट प्रदेशसभा क्षेत्रीय समितिका सचिवका उम्मेदवार शैलेश पन्तसहित पाँचजना घाइते भएको श्रेष्ठले जानकारी दिनुभयो । पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिएको छ भने अन्य चारजना घाइतेलाई भीम अस्पताल भैरहवामा उपचार गरिएको उहाँले बताउनुभयो।




















