शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा।

काठमाडौं:= शुक्रबारदेखि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न भने सकेन ।

खेलको ३३औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङको फ्रिकिकमा आकाश बुढामगरको हेडरले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सक्नुभएन । उहाँको हेड प्रहार बाहिरिएको थियो ।

५७औं मिनेटमा सातदोबाटोका आकाश बुढामगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पञ्बच गर्दै बाहिर पठाउनुभएको थियो । दोस्रो हाफमा फ्रेन्ड्सले केही सुधारिएको प्रदर्शन गरेको थियो ।

खेलको ५९औं मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोष्ट बारमा लाग्दै फर्किएको थियो ।

सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गर्नुभएको थियो । तर, गोलमा परिणत हुन सकेन । खेलको ६६औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुस्किलले बचाउनुभयो । खेलको ७६औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको हो ।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाउनुभयो । खेलमा फ्रेन्ड्सका गोलकिपर राहुल म्यान अफ दि म्याच चुनिनुभयो ।

यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक–एक अंक पाएको छ । लिगअन्तर्गत आज शनिबार दुई खेलहरू हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

शहीद स्मारक लिगको अन्तिम संस्करण २०७६ मा भएको थियो । त्यसलबेला मच्छिन्द्र क्लबले लिग जितेयता कोरोना भाइरसको महामारीबाट प्रभावित लिग दुई वर्षपछि सुरु भएको हो । लिगको उद्घाटन खेल हेर्न रंगशालामा करिब ३ हजार जना दर्शक उपस्थित थिए ।