उत्कृष्ट अभिनेत्रीको अवार्ड शुभेच्छा थापालाई।

काठमाडौं:= राजधानीमा हालै सम्पन्न भएको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८’ को उत्कृष्ट अभिनेत्रीको अवार्ड नायिका शुभेच्छा थापालाई प्रदान गरिएको छ । उहाँलाई चलचित्र ‘लक्ष्मी रानी’ बाट यो अवार्ड प्रदान गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भुजेल ‘केवल’ लगायतले स्रष्टालाई अवार्ड प्रदान गर्नुभएको थियो ।

अवार्ड समारोहमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूलाई पनि सम्मान र पुरस्कृत गरेको थियो । रंगमञ्चबाट नेपाली कलाक्षेत्रमा प्रवेश गर्नुभएकी शुभेच्छा थापा अब्बल नायिकाका रूपमा नेपाली चलचित्र क्षेत्रमा रहँदै आउनुभएको छ ।