नेतृत्व चयनको छिनोफानोमा दलहरू।

अधिकांश पुरानै अनुहार दोहोरिने कसरत

काठमाडौं:= देशको राजनीति अस्थिर बने पनि अहिले दलहरू भने आन्तरिक नेतृत्वको छिनोफानोमा जुटेका छन् । सत्ता गठबन्धनमा रहेका दल र सत्ताबाहिर रहेका दलहरू अहिले आन्तरिक नेतृत्व चयनको तयारीमा जुटेका हुन् । नेतृत्वमा पुरानै अनुहार दोहोरिने लगभग पक्का जस्तै भए पनि दलहरू आफ्नो वैधानिकता जोगाउनका लागि भए पनि महाधिवेशन गर्ने तयारीमा छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू महाधिवेशन गर्ने तयारीमा छन् ।

मंसिर १० बाट १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्दैछ । माधवकुमार नेपाल र झलनाथ खनाल एमाले विभाजन गरी नयाँ पार्टी निर्माणमा लागेपछि एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प देखिनुभएको छ । ओलीविरुद्ध एमालेमा अध्यक्षका लागि उम्मेदवारी दिने नेता नै नहुने अवस्थामा उहाँ एक्लो अध्यक्षको दाबेदार हुनुहुन्छ । पार्टी विभाजनपछि एमालेमा झन् बलियो बन्नुभएका ओलीले आफूलाई सर्वसम्मत अध्यक्षको रूपमा अघि सार्नुभएको छ ।

महासचिव ईश्वर पोखरेल उपाध्यक्ष भीम रावललगायत नेताहरूले अध्यक्षमा आफ्नो आकांक्षा देखाए पनि अहिलेको गणितले ओलीबाहेकका नेताहरू चुनिने सम्भावना निकै कम रहेको छ । पोखरेलले ओलीलाई नै सर्वसम्मत अध्यक्ष मान्ने स्वीकार गरिसकेको र रावलसँग पार्टीमा कार्यकर्ता निकै कम भएको अवस्थामा ओलीलाई सजिलो छ । तर, रावल आफू अध्यक्षका लागि दाबी गर्ने बताउनुहुन्छ ।

ओलीसँग १० बुँदे सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै रावललगायत नेताहरू अहिले असन्तुष्ट रहेका छन् । तर, ओलीले असन्तुष्ट नेताहरूलाई उचित व्यवस्थापन गर्ने गरी आन्तरिक तयारी पनि थाल्नुभएको नेताहरू बताउँछन् । एमालेमा ओलीलाई सर्वसम्मत अध्यक्षको रूपमा हेर्ने नेता कार्यकर्ताहरूको जमात बढी भएकाले पनि ओली नै फेरि अध्यक्षमा दोहोरिने पक्का जस्तै भएको छ ।

यता, नेपाली कांग्रेस अहिले महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्थामा रहेको छ । तोकिएको समयमा महाधिवेशन नभएपछि पार्टीको वैधानिकता नै धरापमा रहेको कांग्रेसले मंसिर २४ देखि २६ सम्म महाधिवेशनको मिति तोकेको छ । कांग्रेसमा सभापतिका आकांक्षी आधा दर्जन बढी भए पनि सभापति शेरबहादुर देउवा नै बलियो देखिनुभएको छ । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले दाबी गर्नुभएको छ ।

संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व-महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, शेखर कोइराला र अर्जुन नरसिंह केसीलगायत नेताले पनि आफ्नो दाबी रहेको बताउँदै आउनुभएको छ । निधिले देउवाको साथ छाडे पनि संस्थापनइतरमा धेरै दाबेदार हुँदाको फाइदा भने देउवालाई नै छ । पौडेल पक्षबाट एकजनाभन्दा बढी उम्मेदवार हुनेबित्तिकै कांग्रेसमा फेरि देउवा नै आउने सम्भावना रहेको नेताहरू बताउँछन् ।

यस्तै, करिब तीन दशकबाट नेतृत्वमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पनि माओवादी केन्द्रको अध्यक्ष बन्ने निश्चित जस्तै बनेको छ । माओवादी केन्द्रले आगामी पुस ११-१३ मा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने मिति तोकेको छ । तर, नेतृत्वमा फेरि पनि प्रचण्ड आउने देखिन्छ । माओवादी वैधानिकतामाथि केही नेताहरूले वैधानिकता उठाउँदै आए पनि प्रचण्डको विकल्प अहिले माओवादीबाट देखिन्न ।

तत्कालीन समयमा डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र मोहन वैद्यलगायत नेताहरूलाई प्रचण्डको विकल्पका रूपमा प्रस्तुत गर्ने गरिएको भए पनि अहिले सबै नेताहरूले माओवादी छाडेपछि प्रचण्ड निर्विकल्प देखिनुभएको छ । अहिले माओवादीमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनको नाम चर्चामा आउने भए पनि ती नेताहरू प्रचण्डविरुद्ध उम्मेदवारी दिन सक्ने अवस्थामा छैनन् । माओवादीले वैधानिकता जोगाउनका लागि राष्ट्रिय सम्मेलन आयोजना गरे पनि नेतृत्वमा प्रचण्डको निरन्तरता निश्चित जस्तै बनेको छ ।

मुख्य राजनीतिक दलहरूमा मात्रै नभएर साना दलहरूमा पनि निरन्तर एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहिरहने परिपार्टी निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर ११ देखि १३ गतेसम्म पार्टीको महाधिवेशन गर्ने तयारी गरे पनि नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिने देखिएको छ । अहिले नेतृत्वमा रहनुभएका कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू नै नेतृत्वको दाबी गर्ने तयारीमा हुनुहुन्छ ।

यद्यपि, दोस्रो पुस्ताका नेताहरू धवलशमशेर राणा, राजेन्द्र लिङ्देनलगायत नेताहरूले पनि आफू नेतृत्वका लागि तयार भएको बताउँदै आउनुभएको छ । उता, चितवनमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा मालेमा फेरि पनि सिपी मैनाली नेतृत्वमा आउनुभएको छ । तीन दशकबाट नेतृत्वमा रहनुभएका मैनाली फेरि पनि मालेको महासचिवमा चयन हुनुभएको हो । उहाँ सर्वसम्मत चयन हुनुभएको हो ।

०५४ साल फागुनमा वामदेव गौतमलगायतका नेताहरूले एमाले विभाजन गरेर माले निर्माण गरेका थिए । तर, पछि गौतमलगायत नेता एमालेमै फर्किएपछि ०५८ सालपछि मालेको नेतृत्वमा मैनाली नै रहनुभएको छ । हरेक राजनीतिक दलहरूमा दोस्रो तहका नेताहरूले पुस्तान्तरणको चर्को बहस गर्ने गरेको भए पनि पार्टीको महाधिवेशनका बेला नेतृत्वको छत्रछायामा नै रहेर आफ्नो दुनो सोझ्याउने गरेका छन्।