काठमाडौं:= प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले मंगलबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् । नेपाल बार एसोसियसनको अगुवाइमा कानून व्यवसायीहरुले जबराको राजीनामा माग गर्दै सर्वोच्च मुल गेटमा प्रदर्शन गरेका छन् ।
नाराबाजी गर्दै कानून व्यवसायीहरु सर्वोच्च परिसरमा प्रवेश गरेका छन् । त्यसक्रममा प्रहरी र वकिलहरुबीच केहीबेर ठेलमठेलको अवस्था सिर्जना भएको थियो। प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बार र न्यायाधीशबीच कसरी अघि बढ्ने भन्ने विषयमा सोमबार सामूहिक छलफल भएको थियो ।
सर्वोच्चका न्यायाधीशहरु र नेपाल बार एशोसियसनबीच मंगलबार पनि छलफल हुने भएको छ । न्यायाधीशहरुसँग छलफल गरेर बारले जबराविरुद्धको आन्दोलनलाई थप शसक्त बनाउने रणनीति लिएको छ । बारले जबरालाई सर्वोच्च छिर्न नदिन गेटमा धर्ना दिइरहेको छ ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गर्नु भएको थियो । यता आन्दोलनरत कानुन व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन्। बार र सर्वोच्च बार दुबैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएको छ ।




















