भियाना:= कोरोना भाइरस (कोभिड-१९)को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि युरोपेली मुलुकहरूले फेरि ‘लकडाउन’ गर्न थालेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरू धमाधम लकडाउनमा जान थालेका हुन् । जाडो मौसम सुरु भएसँगै युरोपमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।
नेदरल्याण्डले देशव्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर, यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ । नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसलाई लकडाउनमा राखेको छ । अष्ट्रियाले खोप नलगाएका मानिसहरूलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको छ ।
यस्तै, जर्मनीमा पनि संक्रमणदर बढेपछि आगामी साताभित्र नयाँ मापदण्ड लागू गर्ने तयारी भइरहेको छ । नेदरल्याण्डले लकडाउन लाइट नाम दिएर गत शनिबारदेखि नै आवागमन र भेटघाटलाई साँघुरो बनाएको छ । यस्तै बेल्जियममा पनि संक्रमणको दर निकै तीव्र बनेपछि त्यहाँको सरकारले नयाँ मापदण्डको विषयमा छलफल अघि बढाएको छ । त्यस्तै लाट्भियामा नोभेम्बरको सुरुदेखि नै लकडाउन गरिएको छ । यता रूसमा पनि संक्रमणदर बढ्दै गएको छ ।




















