प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक।

सभापति देउवाको नेतृत्वमा महाधिवेशन तयारी मूलसमिति गठन

[ डिबी शर्मा ] 

काठमाडौं:= नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले सात प्रदेशमा सातजना संयोजक तोकेको हो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेको हो ।

हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय समितिबाट निर्णय गरी तोकिएअनुसार अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा नै हुने भएका छन् । प्रदेश-१ को विराटनगर, प्रदेश-२ को जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा महाधिवेशन हुनेछ । लुम्बिनी प्रदेशको भने बुटवलमा गर्न लागिएको प्रवक्ता शर्माले बताउनुभयो ।

उहाँले तोकिएका संयोजकहरूले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र सो अधिवेशनहरूमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेशसभाका संसदीय दलका नेता र प्रदेशसभाका सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू, संयोजक र उपसंयोजकहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् ।

बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूलसमिति पनि गठन गरेको छ । समितिमा पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसद्का सदस्यहरू, सातवटै प्रदेश संसदीय दलका नेताहरू रहने निर्णय पनि बैठकले गरेको शर्माले बताउनुभयो ।

महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चारमन्त्री रहनुभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेलाई दिइएको छ । विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको भने प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा रहनुभएको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै हुने

नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन गर्ने भएको छ । उसले नीति तथा कार्यक्रमका लागि अर्को छुट्टै महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकबाट केन्द्रीय समितिमा प्रस्तुत गरेको हो । आइतबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व–पदाधिकारी बैठकले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने निर्णय गरेका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंसिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनले नेतृत्व चयन गर्ने र नयाँ कार्यसमितिले विधान अधिवेशन बोलाउने निर्णय केन्द्रीय समितिले गरेको छ । ‘महाधिवेशनले नेतृत्व मात्रै चयन ग¥योे, नीति तथा कार्यक्रममाथि बहस नै भएन भनेर जुन आलोचना भइरहेको छ, त्यसलाई मध्यनजर गरेर अब यो महाधिवेशनले नेतृत्व चयन गर्नेछ भने महाधिवेशनबाट आउने नयाँ कार्यसमितिले विधान अधिवेशन तय गर्ने समझदारी पदाधिकारी र पूर्व-पदाधिकारी बैठकमा भएको छ,’ उहाँले भन्नुभयो । विधान अधिवेशनले पार्टीको भावी नीति र कार्यक्रम तय गर्नेछ । कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म १४औँ महाधिवेशन गर्दै छ ।

सानेपामा कार्यकर्ताको धर्ना, बैठक बूढानीलकण्ठ सारियो

यसअघि दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक साँझ अबेर मात्रै सुरु भएको थियो । केन्द्रीय समितिअघि बसेको पदाधिकारी र पूर्व-पदाधिकारीको बैठक ढिलोसम्म बसेपछि केन्द्रीय कार्यसमिति बैठक ढिलोगरी बसेको थियो । आइतबार दिउँसो पार्र्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकिएको बैठक अन्तिममा सभापति देउवानिवास बूढानीलकण्ठ सारिएको थियो ।

पार्टी कार्यालयमा कांग्रेसका नेता कार्यकर्ता धर्नामा बसेको सूचनापछि केन्द्रीय समिति बैठक बूढानीलकण्ठ सारिएको हो । कांग्रेस रौतहटका स्थानीय नेताले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन् । उनीहरूले धर्ना दिएको पनि ११५ दिन बितिसकेको छ । गत साउन पहिलो सातादेखि क्रियाशील सदस्यता वितरण निष्पक्ष हुनुपर्ने माग राखेर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् । यसबीचमा कांग्रेसले रौतहटको क्रियाशील सदस्यता विवाद समाधान भएको दाबी गर्दै विवरणसमेत प्रकाशित गरिसकेको छ ।

तर, प्रकाशित विवरणमा धर्नारत कार्यकर्ता सन्तुष्ट छैनन् । वडाबाटै विधानविपरीत सदस्यता वितरण गरिएको भन्दै त्यो नसच्चिएसम्म धर्ना जारी राख्ने कांग्रेस महासमिति सदस्य श्यामचन्द्र यादवले बताउनुभयो । उहाँले आफूहरूको असहमतिकैबीच जिल्लामा अधिवेशन गरिएको खण्डमा बहिष्कार गर्ने चेतावनीसमेत दिनुभयो । ‘विधानविपरीत सदस्यको नामावली केन्द्रमा पठाएपछि हामी धर्नामा बसेका हौँ,’ उहाँले भन्नुभयो, ‘विधानविपरीत काम नसच्चिएसम्म हाम्रो धर्ना जारी रहन्छ ।’ कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा हुनेगरी कार्यतालिका तय गरिएको छ ।