एमालेको महाधिवेशनका लागि देशभरबाट ८५% प्रतिशत प्रतिनिधि छनोट।

काठमाडौं:= नेकपा एमालेको १० को महाधिवेशनका लागि देशभरबाट ८५ प्रतिशत प्रतिनिधि छनोट भएका छन् । आइतबारसम्म विभिन्न जिल्लामा गरी ८५ प्रतिशत प्रतिनिधि छनोट भएको र बाँकी जिल्लामा समेत छिट्टै प्रतिनिधि चयन हुने एमालेले जनाएको छ ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मतिबाट चयन भएका छन् । एमालेले शनिबार देशैभर महाधिवेशन प्रतिनिधि चयन गरेको थियो ।

भट्टराईका अनुसार प्रदेश नम्बर १ मा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर र उदयपुरबाट प्रतिनिधि चयन भएका छन् । यस्तै, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चिवतन र मकवानपुरबाट प्रतिनिधि चयन भएको भट्टराईले बताउनुभयो । प्रदेश नम्बर २ मा भने प्रतिनिधि चयन हुन बाँकी रहेको छ ।

उपत्यका विशेष कमिटीअन्तर्गत पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष कमिटीबाट पनि प्रतिनिधि चयन भएका छन् । यसैगरी, गण्डकीमा गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी बागलुङ मुस्ताङ र मनाङ तथा लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा रुपन्देही कपिलवस्तु, दाङ, प्युठान रुकुम रोलपा बाँके र बर्दियाबाट प्रतिनिधि चयन भइसकेका छन् ।

यस्तै कर्णाली प्रदेशमा हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेतबाट प्रतिनिधि चयन गरिएको छ । सुदूरपश्चिममा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा मात्रै प्रतिनिधि चयन भएका छन् । अझै कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षत्रमा चयन गर्न बाँकी रहेको छ ।

भट्टराईका अनुसार अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट प्रतिनिधि चयन भइसकेका छन् । महाधिवेशनमा एमालेका एक हजार ९९९ प्रतिनिधि हुनेछन् ।