काठमाडौं:= नयाँ लोक तथा दोहोरी गीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा विशेष समारोहबीच पृथ्वी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियो सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर छ भने लय तथा शब्द सुजन लम्सालको छ । गीतमा एरेन्ज सुनिल परियारले गर्नुभएको छ ।
पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकप्रिय गीतकार रमेश बिजीले गीतलाई शुभकामना दिनुभयो । कार्यक्रमका सभापति पृथ्वी इन्टरटेनमेन्टबाट प्रमुख पृथ्वी थकालीले गीतसंगीतको क्षेत्रलाई सदैवमा माया गर्ने र निरन्तरताका लागि नयाँ कोसेलीस्वरूप यस गीत सार्वजनिक गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफूलाई मन छोएको बताउनुभयो । साथै गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीत आइरहदा केहि फरक गर्ने कोसिसका साथ नयाँ गीत ल्याएको जानकारी गराउनुभयो ।
भिडियोका कलाकार प्रकाश सपुतले आफ्नो गीतसंगीतको करिअरनै पृथ्वी इन्टरटेनमेन्टबाटै सुरु गरेको सम्झिनुभयो । नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताउनुभयो । भिडियोमा विक्रम स्वारको निर्देशन छ भने नवराज उप्रेतीले खिच्नुभएको हो । भिडियोमा प्रवीन भट्टको सम्पादन छ ।




















