काठमाडौं:= क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले राष्ट्रिय महिला क्रिकेट खेलाडी कविता गौतमलाई आर्थिक सहयोग गरेको छ । खुट्टामा चोट लागेर उपचार गराइरहनुभएकी कवितालाई सिप्यानले एक लाख आर्थिक सहयोग गरेको हो ।
विभिन्न सञ्चारमाध्यममा गौतमको अवस्थाबारे समाचारहरू प्रकाशित भएपछि सिप्यानले एक विज्ञप्ति जारी गर्दै कवितालाई सहयोग गर्ने जनाएको हो । गत वर्ष भएको ललितपुर मेयर कपमा बलिङ गर्नेक्रममा कविताको खुट्टामा चोट लागेको थियो।
करिब ६ महिनाअघि उहाँको खुट्टाको शल्यक्रिया गरिएको थियो । चिकित्सकका अनुसार कविताले उपचारको डेढ वर्षपछि मैदान फर्कन सक्नुहुनेछ । सिप्यानले कविताको उपचारका लागि अस्पताल, चिकित्सक तथा खेलाडीसँग थप परामर्श, समन्वय र सहयोग गर्ने जनाएको छ ।




















