बहराइन:= बहराइनले नेपाललाई आइतबारदेखि कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण राखिएको खतरा सूचीबाट हटाउने भएको छ।
बहराइनले कोभिड–१९ संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई यसअघि कोभिड संक्रमित खतराको सूचीमा राखेको थियो ।
तर नेपालमा पछिल्लो समय कोभिड संक्रमण घट्दो क्रममा रहँदा बहराइन सरकारले आइतबार राति १२ बजेबाट कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय गरेको हो। बहराइन स्थित नेपाली दूतावासले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ।

अब बहराइन जाने नेपाली श्रमिक १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै डोज लगाएका यात्रु क्वारेन्टिनमा बस्नु नपर्ने भएको हो ।
यात्रुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य रुपमा राख्नुपर्नेछ । खोप नलगाएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरू भने आफ्नै निवास वा बहराइन सरकारले निर्धारित स्थानमा क्वारेन्टिनमा बस्नुपर्ने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
बहराइन पुगेपछि भने विमानस्थलमा त्यस्तै क्वारेन्टाइनभित्र बसेको पाँचौं दिन र १० औं दिनमा पनि पीसीआर परीक्षण गर्नुपर्नेछ ।




















