मुम्बई:= यही कात्तिक १९ गतेबाट विश्वव्यापि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले पाँच दिनमै सय करोड कमाएको छ । भारतीय बक्सअफिसमा २६ करोड २९ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो चलचित्रले प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको छ ।
दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौथो दिन १४ करोड ५१ लाख र पाँचौं दिन (हिजो) चलचित्रले ११ करोड २२ लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिनु भएको छ । प्रदर्शनको पाँच दिनमा चलचित्रको कमाई कूल १ सय २ करोड ८१ लाख पुगेको छ । कोरोना महामारीपछि भारतमै सय करोडको व्यापार गर्ने ‘सूर्यवंशी’ पहिलो फिल्म बनेको छ ।
यो चलचित्रले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । नेपालमा यो फिल्मले पाँच दिनमा तीन करोडको नजिक व्यापार गरेको जानकारी प्राप्त छ । रोहित शेट्टी निर्देशित यस चलचित्रमा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन, रणवीर सिंहको अभिनय छ । चलचित्रमा अक्षयको अभिनय र एक्सनलाई दर्शकले निकै रुचाएका छन् ।




















