नेपालको प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी।

काठमाडौं:= नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानसेनापति शर्मालाई उक्त दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाली सेना र भारतीय सेनाबीच रही आएको परम्परागत आपसी सौहार्दपूर्ण सम्बन्धअनुरूप दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रही आएको छ । यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणमा प्रधानसेनापति शर्मा मंगलबार भारत जानुभएको थियो ।

प्रधानसेनापति शर्माले भ्रमणका क्रममा विभिन्न भारतीय उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम छ । प्रधानसेनापति शर्मा शुक्रबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।