काठमाडौं:= अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर बुधबार छठ पर्व मनाइएको छ भने आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर यसको समापन गरिँदै छ । छठ पर्वका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठीमाताको पूजाअर्चना गर्नुभएको छ ।
काठमाडौंको गौरीघाट र कमलपोखरीमा उहाँले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिनुभएको हो । कमलपोखरीमा अघ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको थियो । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीस्थित बागमती नदी किनारमा गएर छठीमाताको पूजाअर्चना गर्नुभएको छ ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिंगरिएका छन् । जनकपुरका पोखरीहरूमा छठको गीत र सजावटले झकिझकाउ हुने गर्दछ । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिने गर्छ ।
छठको पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठपर्वको शुभारम्भ गर्दछन् । दोस्रो दिन खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन् ।
यस पर्वको तेस्रो दिन व्रतालुले दिनभरि आ–आफ्नो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । त्यसदिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व समापन गरिन्छ ।




















