नेपालमा भटमास तेल र पाम आयलको निर्यात उच्च।

काठमाडौं:= चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम तीन महिना अर्थात् साउनदेखि असोज महिनासम्ममा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.० प्रतिशत र ८८.० प्रतिशत रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कुल निकासी १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड तथा कुल पैठारीमा ६३.७ प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ ।

आव २०७७÷०७८ को प्रथम तीन महिना अवधिमा निकासी पैठारी व्यापारको अनुपात १ः९.४ रहेकोमा आव २०७८÷०७९ को सोही अवधिमा यस्तो अनुपात १ः७.४ रहेको छ । सो  अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा भटमास तेल, पाम आयल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामान, सूर्यमुखी तेल, तयारी पोशाक, ऊनी फेल्ट उत्पादन, जुस, अलैंची, चिया, कपडा, पश्मिना सल, चाउचाउ, फलाम तथा फलामजन्य उत्पादन प्रमुख रहेका छन् ।

भटमास तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भई २२ अर्ब दुई करोड पुगेको छ भने पाम आयल निर्यातमा भारी वृद्धि भई १३ अर्ब ५१ करोड पुगेको छ । यार्न निर्यातमा ५१.७ प्रतिशतले वृद्धि भई दुई अर्ब छ करोड र ऊनी गलैंचाको निर्यात २०.५ प्रतिशतले वृद्धि भई  दुई अर्ब ४६ करोड पुगेको छ । त्यसैगरी जुट तथा जुटका उत्पादन निर्यात पनि ३४.९ प्रतिशतले वृद्धि भई दुई अर्ब ३७ करोड पुगेको छ ।

पछिल्ला केही महिनामा सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुको पहिचान स्थापित गर्दै समीक्षा अवधिमा यस वस्तुको तेलको निर्यात एक अर्ब ८२ करोड पुगेको छ । तयारी पोशाकको निर्यातमा २६.२ प्रतिशतले वृद्धि भई दुई अर्ब २० करोड पुगेको छ भने फेल्टको निकासीमा ३०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ७२ करोड पुगेको छ ।

त्यस्तै जुसको निकासीमा ५१.८ प्रतिशतले वृद्धि भई एक अर्ब ५१ करोड पुगेको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा १२.८ प्रतिशतले ह्रास आई एक अर्ब २८ करोडमा सीमित हुन पुगेको छ । चिया निर्यातमा पनि ५३.५ प्रतिशतले ह्रास आई एक अर्ब एक करोडमा सीमित हुन पुगेको छ ।

चालु आर्थिक वर्षको प्रथम तीन महिनामा प्रशोधित खाद्य तेल भटमासको तेल, पाम आयल, सूर्यमुखी तेलको निर्यात नेपालको कुल निर्यातमा ५७.४ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखापरेको छ । सो अवधिमा उल्लेखित वस्तुको कुल निर्यात ३७ अर्ब ३६ करोड पुगेको छ ।

प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमास तेल, पाम आयल तथा सूर्यमुखीको निर्यात हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ३३.९, २०.८ र २.८ प्रतिशत रहेको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फ १४७.१ प्रतिशतले वृद्धि भई ५२ अर्ब ७२ करोड पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६८.७२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सो हिस्सा बढेर ८१.० प्रतिशत पुगेको हो ।

नेपालको निर्यातमा ५७.४ प्रतिशत योगदान रहेको भटमास, पाम आयल र सूर्यमुखी तेल निर्यात भारतमा नै भइरहेकाले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा बढोत्तरी देखिएको हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, जापान, अस्ट्रेलिया, इटाली, क्यानडा, चीन, नेदरल्यान्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।

पैठारीतर्फ समग्रमा आव २०७८÷७९ को प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा १३२.७ प्रतिशतले वृद्धि भई ५३ अर्ब ९१ करोड पुगेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयातमा ६९.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७६ करोड, मेसिनरी तथा पार्ट्समा ५३.९ प्रतिशतले वृद्धि भई ३५ अर्ब १० करोड, यातायातका साधन र पार्टपुर्जा ७३.४ प्रतिशतले वृद्धि भई ३४ अर्ब ३८ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री २०.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड, खाद्यान्न आयातमा १०.३ प्रतिशतले ह्रास आई १७ अर्ब ७१ अर्बमा सीमित रहेको छ ।

तयारी पोशाकको आयातमा ४३.७ प्रतिशतले वृद्धि भई १०.५३ अर्ब पुगेको छ । औषधिको आयात ६८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ४९ करोड पुगेको छ । कच्चा भटमास तेलको आयातमा १५३.२ प्रतिशतले भई २० अर्ब ६१ करोड पुगेको छ भने दूरसञ्चारका सामग्री आयातमा ५५.४ प्रतिशतले वृद्धि भई २० अर्ब ६४ करोड पुगेको छ ।