आप्रवासी प्रवेशमा पोल्याण्डको रोक।

वारसा:= पोल्याण्डले देशभित्र आप्रवासी प्रवेशमा रोक लगाएको छ । बेलारुससँगको पूर्वी सिमानामा जम्मा भएका सयौं मानिसलाई प्रवेशमा रोक लगाइएको हो ।

अरू हजारौं मानिस पोल्याण्डतर्फ आउँदै गरेको बताइएको छ । बेलारुसले आप्रवासीलाई जबर्जस्ती आफ्नो सीमातर्फ धकेलेको आरोप लगाउँदै पोल्याण्डले यसलाई आपराधिक कार्य भनी टिप्पणी गरेको छ।

पोल्याण्ड सरकारले उनीहरूलाई रोक्न सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको छ । आप्रवासीहरुले सिमानामा लगाइएको काँडेतारको बार तोड्ने कोसिस गरिरहेको भिडियो सार्वजनिक भइरहेका छन्।

पोल्याण्ड, लिथुआनिया र लाट्भियाले बेलारुसबाट अवैधरूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या पछिल्लो समय बढ्दै गएको बताएका छन् । आप्रवासीहरू अधिकांश मध्यपूर्व र एशियाका रहेको जनाइएको छ । पोल्याण्डले आप्रवासी र शरणार्थीलाई रोक्नका लागि सिमानामा कठोर कदमहरू चालेकाले सिमानामा भेला भएका आप्रवासीको सुरक्षाको प्रश्न पनि उठेको छ।

जिरो डिग्रीको चिसोमा जंगल क्षेत्रमा कैयौं आप्रवासीहरू अलपत्र परेको र आवश्यक तातोको अभावमा कैयौंको ज्यान गईसकेको अनुमान पनि गरिएको छ । विभिन्न देश हँुदै बेलारुस पुगेका आप्रवासीहरूले सामाजिक सञ्जालमार्फत समूह बनाएर पोल्याण्ड छिर्न सिमानातर्फ आएको बताएका छन्।