काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले तोकिएभन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य रहेको बताउनुभएको छ । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछिको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले भन्नुभयो, ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु, बाहिर तोकिएकाले मात्र पुग्दैन । राजस्व बढाउन कडाइसमेत गरिएको छ ।’ पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो । मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थसचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउनसमेत निर्देशन दिनुभयो ।
उहाँले चीन सरकारले ठोसरूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकासमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्, उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्यांकन गर्नुहोस् । त्यसरी दुईवटालाई जोडेर काम अघि बढाऔँ ।’
तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा नाकाको विकास गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो। नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नुभएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गर्नुभएको थियो ।
कोरोनाका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ताचप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।
सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुग्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।




















