तिहार सकिए लगत्तै तराई-मधेसमा छ्ठ पर्वको तयारी थालियो।

बारा := तराई-मिथिला क्षेत्रमा हर्षोउल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । तिहार, शुभ दीपावली सकिएसँगै तराई-मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।

यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।

स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन सुरु गरेका छन् । जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ ।

युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् । छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् ।

यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।