युएई (दुबई) := लगातार चौथो जितसँगै इंग्ल्यान्ड संयुक्त अरब इमिरेट्स (युएई) मा जारी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को खेलमा इंग्ल्यान्डले सोमबार राति श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । हारसँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
जितका लागि १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो । श्रीलंकाका बानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन जोड्नुभयो । यस्तै भानुका राजपक्षे र दासुन शनाकाले समान २६-२६, ओपनर पाथुम निसांका १, कुशल परेरा ७, चारिथ असलंका २१ र अविष्का फर्नान्डो १३ रनमा आउट हुनुभयो ।
इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै क्रिस जोर्डनले ४ ओभरमा २४ रन खर्चेर २ तथा मोइन अलीले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिनुभयो ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले ६७ बलमा ६ चौका र ६ छक्कासहित १०१ रनको अविजित शतकीय इनिङ खेल्दै टोलीलाई सेमिफाइनलमा पुर्याउनुभयो ।
बटलरले २०औं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गर्नुभएको थियो । योसँगै इंग्ल्यान्डबाट तीनै फम्र्याटमा शतक प्रहार गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ ।
त्यसबाहेक ओइन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्कासहित ४०, जेसन रोय ९, डेविड मलान ६ रनमा आउट हुनुभयो । श्रीलंकाका स्पिनर बानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिनुभयो ।
इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेट, दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अस्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो । पहिलो चरणको समूह ‘ए’ को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । अस्ट्रेलियासँग ७ विकेट र दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले शनिबार अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ । श्रीलंकाले बिहीबार आफ्नो अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्नेछ । सेमिफाइनलमा इंग्ल्यान्डले सुपर १२ को समूह २ को उपविजेतासँग खेल्नेछ ।
जितसँगै समूह १ मा इंग्ल्यान्ड चार खेलमा चारमा नै जितका साथ आठ अंक जोड्दै शीर्षस्थानमा छ । अस्ट्रेलिया तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको तीन खेलमा दुईमा जित र एकमा हारसहित समान चार अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । श्रीलंका चार खेलमा एकमा जित र तीनमा हारसहित चौथो स्थानमा छ । वेस्ट इन्डिज तीन खेलमा एकमा जित र दुईमा हारसहित पाँचौं स्थानमा छ । बंगलादेश तीन खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।




















