काठमाडौं:= भारतीय टिभी रियालिटी सो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ बाट चर्चा कमाउनु भएका डान्सर सुशान्त खत्रीले आफूलाई नेपाल प्रहरीले विनाकारण झापड हानेको बताउनुभएको छ।
सुशान्तले फेबसुक र इन्स्टाग्राममार्फत आइतबार राति हृयालोविन पार्टीमा सहभागी भएको बेला प्रहरीले आफू माथी दुव्र्यवहार गरेको बताउनुभएको हो । शुशान्तका अनुसार राति एलओडी र त्यसपछि सेनेटमा पुग्नुभएको थियो । साथीहरूसँग रमाइलो गरिरहेका उहाँ अबेरसम्म बस्नुभयो । प्रहरीले क्लब बन्द गराउन लाग्दा उहाँले आफूले प्रहरीसमक्ष बिल तिरेर निस्कने आग्रह गरेको बताउनु भएको छ।
डान्सर खत्रीले, ‘त्यहाँनिर मिसअन्डरस्ट्यान्डिङ के भयो भने एउटा भाइले उहाँको बिल भइसक्यो भने । तर अर्को भाइसँग मेरो बिल बाँकी थियो । अनि त्यसपछि पुलिसले मेरो काँधमा समातेर घिसारेर बाहिर लानुभयो।’
उहाँले साथीहरू र सिसीटिभी फुटेज प्रमाणका रूपमा रहेको दाबी गर्दै भन्नुभएको छ, ‘पुलिसले यस्तरी समात्नुभयो मलाई हातमा पीडा भइरहेको थियो । त्यसपछि गालामा एक झापड हान्नुभयो । यसरी हान्नुभयो कि त्यस्तो झापड मैले जीवनमा कहिल्यै खाएको थिइनँ । कसैको अधिकार छैन यहाँ मलाई झापड हान्न।’
उहाँले आफूलाई प्रहरीले ज्याकेट र मास्कसमेत लगाउन नदिई हाफ सर्टमै सोह्रखुट्टे प्रहरी चौकी लगेर एक घण्टा थुनेको बताउनुभयो । देशका लागि मिहिनेत गरेर काम गरेको तर आज यस्तो दुव्र्यहार भोग्नुपर्दा चित्त दुखेको भन्दै भिडियोमा लाइभ आउनु भएका उहाँले आसुसमेत झार्नुभएको छ।




















