टि-२० विश्वकप क्रिकेट: भारतको दोस्रो लज्जास्पद हार, समूह चरणबाटै बाहिरिने।

एजेन्सी := आइसिसी टि-२० विश्वकप २०२१ मा न्युजिल्यान्डले भारतमाथि सानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा न्युजिल्यान्डसँग भारत ८ विकेटले स्तब्ध बनेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ११० रनको सामान्य रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । न्युजिल्यान्डको जितमा ओपनर ड्र्याल मिचेलले सर्वाधिक ४९ रन बनाए । त्यस्तै, मार्टिन गुप्टिल २० रनमा क्याच आउट हुन पुगे भने कप्तान केन विलियम्सनले अविजित ३३ रन जोडे ।

भारतका लागि जस्प्रित बुमराहले २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाएको थियो । भारतका लागि रविन्द्र जडेजा सर्वाधिक २६ रनमा अविजित रहे । हार्दिक पान्ड्याले २३ रन बनाउँदा अन्य खेलाडी चल्न सकेनन् । ओपनर लोकेश राहुलले १८ रन बनाउँदा अर्का ओपनर इशान किसान ४ रनमै आउट भए ।

कप्तान विराट कोहलीले ९ रन जोडे भने रोहित शर्माले १४ रन तथा ऋषभ पन्त १२ रनमा आउट भए । न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले  सर्वाधिक ३ विकेट लिए । त्यस्तै, स्पिनर ईश सोधीले २ विकेट तथा एडम मिल्ने र टिम साउथीको नाममा १–१ विकेट रह्यो ।

योसँगै भारतविरुद्ध विश्वकपमा न्युजिल्यान्डले १८ वर्ष देखिको अपराजित यात्रालाई कायमै राखेको छ । न्युजिल्यान्डको यो पहिलो जित हो । पहिलो खेलमा भने न्युजिल्यान्ड पाकिस्तानसँग स्तब्ध बनेको थियो । तर, भारतको भने यो लगातार दोस्रो हार हो । भारतलाई पनि पहिलो खेलमा पाकिस्तानले १० विकेटले पराजित गरेको थियो । योसँगै भारत समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

भारत र न्युजिल्यान्डले अब अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासँग खेल्न बाँकी छ । लगातार जितेको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा जाने छ भने भारत बाहिरिनेछ । पाकिस्तानले भने यसअघि नै लगातार तेस्रो जित हात पारेर सेमिफाइनलको यात्रालाई बलियो बनाइसकेको छ ।