काठमाडौं:= नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक जगत टमाटाले चारजना वैकल्पिक खेलाडीसहित अन्तिम टोली घोषणा गर्नुभएको हो । घोषणा भएको नेपाली टोलीमा रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजोल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई हुनुहुन्छ ।
यस्तै वैकल्पिक खेलाडीमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहनुभएको छ । युएईमा आगामी नोभेम्बरबाट सुरु हुने एसियाली छनोटमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउनेछन् ।
यता नेपाली राष्ट्रिय पुरुष टोलीका ब्याट्सम्यान कुशल भुर्तेलको आइसिसी टी– २० को ब्याटिङ बरीयतामा सुधार भएको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको बरीयताअनुसार भुर्तेल ५७औं स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ ६०औं स्थानमा हुनुहुन्थ्यो । ब्याटिङतर्फ वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल दुई स्थान तल झर्दै ९७औं स्थानमा पुग्नुभएको छ । बलिङतर्फ सन्दीप लामिछाने ८८औं स्थानमा झर्नुभएको छ । यसअघि उहाँ ७८औं स्थानमा हुनुहुन्थ्यो ।




















