मुम्बई:=विश्वको चलचित्र बजारमा बलिउड निकै ठूलो मानिन्छ। बलिउड चलचित्र विश्वका सय बढी देशमा हेरिन्छ । हिन्दी भाषासँगै विभिन्न देशका विभिन्न भाषामा बलिउडका चलचित्र डबिङ पनि हुन्छन् ।
बलिउडका कलाकारहरू विश्व बजारमै चर्चित छन् । उनीहरूको लाइफस्टाइल निकै फरक छ । यसैबीच विश्वमै चर्चित बनेका बलिउडका केही सुपरस्टारहरूको कमाई कति होला ? एउटै चलचित्रमा काम गरेको कति लिन्छन् होला ? अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले वर्षेनी बलिउडका कलाकारको पनि आम्दानीको सूची निकाल्ने गर्छ । जसमा पछिल्लो वर्ष सर्वाधिक कमाउने बलिउड कलाकारमा अभिनेता अक्षय कुमार पर्नुभएको थियो ।
पछिल्ला केही रिपोर्टलाई हेर्ने हो भने शाहरूख खान, अक्षय कुमार र सलमान खान कमाईको मामिलामा अन्य ठूला अभिनेतामाथि भारी पर्छन् । शाहरूख खान बलिउडका सुपरस्टार हुनुहुन्छ । शाहरूखले चलचित्रमा अभिनय गरेरमात्र होइन् आफ्नो कम्पनीबाट पनि आम्दानी गर्नुहुन्छ । उहाँको रेड चिली इन्टरटेनमेन्ट नामको प्रोडक्सन कम्पनी पनि छ जसले थुप्रै सफल चलचित्रको निर्माण गरिसकेको छ ।
मिडिया रिपोर्टका अनुसार शाहरूखले आफ्नो आउँदो चलचित्र पठानका लागि लगभग ९७ करोड भारु पारिश्रमिक लिनुभएको छ । यस्तै बलिउडमा अर्का सुपरस्टार सलमान खानको कुरा गर्नेहो भने पनि उहाँको २०१७-१८ मा कूल सम्पत्ति ४० मिलियन डलर रहेको मिडिया रिपोर्टको दाबी छ । सलमानको पनि आफ्नो प्रोडक्सन कम्पनी ‘सलमान खान फिल्मस्’ छ । जसमार्फत् करोडौंको कारोबार गर्नुहुन्छ ।
अर्का सुपरस्टार अक्षय कुमारको पनि प्रोडक्सन कम्पनी छ । अक्षयको सम्पत्ति २ हजार ४ सय १४ करोड भारु रहेको रिपोर्ट देखिन्छ । अक्षयले एउटै चलचित्रबाट कम्तीमा पनि २५ करोडभन्दा बढी कमाउनुहुन्छ । अक्षयको मासिक आम्दानी १० करोडभन्दा माथि हुन्छ ।
यस्तै बलिउडमा दर्शकबाट महानायकको उपाधि पनि पाउनुभएका अमिताभ बच्चनले पछिल्लो समय चलचित्रसँगै अन्य टेलिभिजन शोमा पनि आबद्ध हुनुहुन्छ । जसबाट पनि करोडौंको आम्दानी गर्नुहुन्छ । मिडिया रिपोर्टका अनुसार मुम्बईमा उहाँका पाँच बंगला छन् । उहासँग दुईवटा विलासी फ्ल्याट पनि छन् । अमिताभ बच्चन एउटा ब्राण्डको विज्ञापनका लागि ५ देखि ६ करोड पारिश्रमिक लिने गरेको रिपोर्ट छ ।
यस्तै आमिर खानको कुरा गर्दा सन् २०१६ मा रिलिज भएको ‘दंगल’बाट उहाँले निकै आम्दानी गर्नुभएको थियो । मिडिया रिपोर्टका अनुसार उहाले ‘सिक्रेट सुपरस्टार’ र ‘पिके’बाट पनि सयौं करोड भारु कमाउनुभएको थियो । यस्तै अभिनेता कमल हसन चाची ४२० जस्ता चलचित्रमा उत्कृष्ट भूमिका निभाउनु भएको छ । मिडिया रिपोर्टका अनुसार जब अभिनेताले सन् २०१७ मा टिभी शो ‘बिग बस’को तमिल संस्करणलाई प्रस्तुत गर्नुभएको थियो तब उहाँलाई लगभग १५ करोड भारु दिइएको थियो ।
यस्तै अभिनेता शाहिद कपुरको पनि लोकप्रियता निकै छ । चलचित्र ‘कबिर सिंह’को रिलिजपछि शाहिदको माग अत्यधिक बढेको छ । मुम्बईमा उहाँका दुई विलासी घर छन् जसको मूल्य करिब ३० करोड भारु अनुमान गरिएको छ । अर्का अभिनेता ऋतिक रोशनको पनि करोडौंको सम्पत्ति छ । ऋतिकको आउँदो चलचित्र ‘रामायण’का लागि मात्रै लगभग ७४ करोड भारु पारिश्रमिकको रूपमा लिएको रिपोर्ट छ । अर्का अभिनेता रणवीर कपुरको पनि चलचित्र ‘रामायण’मा भूमिका छ । उहाँलाई पनि लगभग ७४ करोड भारु पारिश्रमिकको रूपमा दिइएको छ ।




















