मलेसियामा सन् २०१८ देखि २०२१ सम्ममा १,१५८ जना नेपालीको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सन् २०१८ देखि यस् बर्ष सन् २०२१ को जुलाई महिनासम्ममा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।

मलेसियाली मानव अधिकार आयोग (सुहाकम) [ Human Rights Commission of Malaysia ] का आयुक्त जेराल्ड जोसेफले मलेसिया स्थित नेपाली दूतावासको एक रिपोर्ट अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको मृत्यु हुनेको संख्यामा बृद्धि भएको पाइएको बताउदै तथ्यांक सार्वजनिक गरेका हुन्।

आयोगले सन् २०१८ देखि २०२१ को जुलाईसम्म मलेसियामा १ हजार १ सय ५८ नेपालीको मृत्यु भएको नेपाली दूतावासबाट जानकारी प्राप्त गरेको जनाएको हो। “नेपाली श्रमिकहरुको मृत्यु हुनुको मुख्य कारणहरु मध्ये आत्महत्या, कार्यस्थल दुर्घटना, सवारी दुर्घटना, निमोनिया, हृदयघात , कोभिड-१९ लगायत अन्य विभिन्न रोगहरु रहेका छन्।”

‘श्रम विभाग वा सुरक्षा तथा स्वास्थ्य विभागले पनि यस विषयमा छानबिन गर्न सक्छ। मृत्युको कारण र जिम्मेवार के हो ? भन्ने जान्न चाहन्छौँ,’ आयोगले आयोजना गरेको एक पत्रकार सम्मेलनमा भने।

जेराल्डले आयोगले यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित निकायसँग थप जानकारी लिनको लागि स्थलगत अनुगमन गर्ने र समस्या समाधानका बारे उपाय पनि खोजी गरिने बताए।