अन्तर्राष्ट्रिय भैंसी सम्मेलन हुने, १७ देशका भैंसी वैज्ञानिकको जमघट।

काठमाडौं:= दूध र मासु दुवैमा उपयोग हुने भैंसी प्रवद्र्धनका लागि भैंसी सम्मेलन हुने भएको छ । भैंसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायतका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैंसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ दशौं एसियन भैंसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् । शनिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल माध्यमबाट हुने जानकारी गराउनुभयो ।

आयोजकका अनुसार भैंसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा एक सय ३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् भने सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । सम्मेलन यही अक्टोबर २५ देखि २९ तारिख पाँच दिनसम्म सञ्चालन हुने बताइएको छ ।

सन् २०१७ मा सौराहामा स्थानीयरूपमा भएको भैंसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैंसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवं बेमौसमी प्रजनन् प्रविधिमा योगदान गर्दै आएको छ ।

बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन् कार्य किसानको गोठमा पुर्‍याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैंसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताउनुभएको छ । आयोजकका अनुसार सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाइ दिन सम्मेलन सफल हुने दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रियस्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ। भैंसीलाई कालो सुनका रूपमा लिइने भएकाले नयाँ प्रविधि र खोजअनुसन्धान प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सहयोग पुग्ने रेग्मीले बताउनुभयो ।

नेपालमा दुग्ध उत्पादनमा भैंसीले करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैंसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ । जसका लागि भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ।  नेपालमा भैंसीको संख्या करिब ५२ लाख रहेको तथ्यांक छ ।

स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैंसीपालन हुँदै आएको छ । विश्वमा भएका भैंसीमध्ये ९२ प्रतिशत भैंसी एसियामा पाइन्छन् । जसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीन र चौथोमा नेपाल रहेको छ ।

नेपालमा पछिल्लो समय आयातित हाइब्रिड जातका भैंसीपालनसमेत बढ्दोक्रममा रहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैंसीलाई बहुउपयोगी जनावर मानिन्छ । अझै नेपालमा त दूधका साथै भैंसीको मासु अत्यधिक खपत हुने गरेको छ ।