नेपाली कांग्रेस पार्टीको महाधिवेशन मंसिरमा नहुने निश्चित।

काठमाडौं:= नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि तोकिएकै समयमा नहुने भएको छ । यसअघि पटक-पटक मिति सार्दै मंसिर (९-१३)मा गर्ने भनिएको महाधिवेशन फेरि पनि सर्ने निश्चित भएको हो । केही जिल्लाको अधिवेशन गरिसकेको कांग्रेसले अझै तीन जिल्लाको क्रियाशील सदस्यता विवाद नै मिलाउन सकेको छैन । रसुवा, बारा र रौतहटमा क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान गर्न नसक्दा महाधिवेशन प्रक्रिया अवरुद्ध बनेको हो । क्रियाशील सदस्यता विवाद मिलेका भनिएका ठाउँमा पनि व्यापक असन्तुष्टि छ ।

१३ जिल्लामा वडा तहको अधिवेशन नै हुन सकेको छैन । प्रदेश नम्बर–२ का आठवटै जिल्लामा अधिवेशन हुन बाँकी छ । दशैँअघि नै २१ हिमाली जिल्लाहरूमा जिल्ला तहको अधिवेशन सम्पन्न गर्ने र अधिवेशन हुन नसकेका १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन सकाउने भनिए पनि त्यो पनि हुन सकेन । भदौ २५ गतेको संशोधित कार्यतालिकाबमोजिम असोज १८ सम्ममा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन सम्पन्न हुनुपर्ने थियो । त्यो पनि हुन सकेन ।

केन्द्रीय सदस्य योगेश चौधरी भने क्रियाशील सदस्यता विवाद लगभग सकिएको बताउनुहुन्छ । तर, सबै जिल्लाको क्रियाशील विवरण सकिएको भए पनि अझै केही जिल्लामा असन्तुष्टि रहेको भने उहाँले स्वीकार गर्नुभयो । ‘क्रियाशील सदस्यता विवाद त लगभग सकियो,’ उहाँले भन्नुभयो, ‘कतिपयमा टुंगिसके पनि असन्तुष्टि पैदा भएको छ । हामीले सक्ने काम त सकेका छौँ । तर, केही ठाउँमा अहिले पनि असन्तुष्टि छ ।’

यी सबै काम कारबाहीबाट आगामी मंसिरमा महाधिवेशन नहुने निश्चित भइसकेको छ । जसमा कांग्रेसको निर्वाचन समितिसमेत सहमत छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पनि मंसिरमा महाधिवेशन नहुने लगभग निश्चित भएको बताउनुभयो । उहाँले विभिन्न कारणले दशैँपछि गर्ने भनिएको कार्यतालिकासमेत प्रभावित भएको बताउनुभयो । विशेषगरी राष्ट्रसेवक कर्मचारीलाई महाधिवेशनमा प्रयोग नगर्नेबारे उच्च अदालतमा परेको रिटको फैसला नआएकोले प्रभावित भएको बताउनुभयो । ‘राष्ट्रसेवक (शिक्षक)लाई महाधिवेशनमा प्रयोग गरेकोबारे उच्च अदालतमा रिट पर्‍यो नि त,’ उहाँले भन्नुभयो, ‘त्यसले पछिल्लो कार्यक्रम प्रभावित भयो । असोज ३० गते अल्पकालीन आदेश दिएको छ । आइतबार सुनुवाइ छ । त्यहाँ के गर्दो रहेछ, त्यसपछि तालिका अगाडि बढाउने कुरा छ । मंसिरको मिति त सयमा सय प्रतिशत प्रभावित हुने भो ।’ उच्च अदालतको फैसलापछि निर्वाचन समितिले महाधिवेशनबारे छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।

मंसिरमा महाधिवेशन नहुनेमा चौधरी पनि सहमत हुनुहुन्छ । आधिकारिक रूपमा आफूले भन्न नमिल्ने भए पनि व्यावहारिक रूपमा मंसिरमा महाधिवेशन नहुने उहाँको भनाइ छ । ‘तालिका प्रभावित त भइ नै हाल्छ । अब त्यो आधिकारिक रूपमा मैले भन्न त सक्दिनँ,’ उहाँले भन्नुभयो, ‘तर, व्यावहारिक रूपमा त्यो सम्भव देखिँदैन ।’

पुस मसान्त वा माघ पहिलो साता सार्ने तयारी 

२०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने भने पनि त्यसयता कांग्रेसले चारपटक महाधिवेशनको मिति सारिसकेको छ । अब पाँचौँपटक महाधिवेशनको मिति तोक्ने गृहकार्य भइरहेको छ । मंसिरमा नहुने निश्चित भइसकेपछि नयाँ मितिबारे नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । केन्द्रीय सदस्य चौधरी पनि नेताहरूबीच नयाँ मितिबारे छलफल भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार पुस मसान्तसम्म नयाँ तालिका कायम गर्नेगरी नेताहरूबीच छलफल चलिरहेको छ । ‘नेताहरूको बीचमा पनि पुसमा लैजाने कि भन्ने छलफल त चलिरहेकै छ । त्यसैले पुसमा लाने कुरा नेताहरूको मोटामोटी छलफल भइरहेकै छ ।’

त्यस्तै, कांग्रेस नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि नयाँ मितिबारे छलफल भइरहेको बताउनुभयो । पुस मसान्त वा माघ पहिलो साता महाधिवेशन हुनसक्ने उहाँको भनाइ छ । ‘मंसिरमा हुने सम्भावना त म देख्दिनँ,’ ‘शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा डा. खड्काले भन्नुभयो, ‘यो मेरो आफ्नो अनुमान हो,’ केही जिल्लामा अहिले पनि वडा अधिवेशन हुन सकेको छैन । मंसिर अन्तिममा पनि कुन्नी । भयो भनेदेखि पुसको अन्तिम वा माघको पहिलोमा हुन्छ कि भन्ने अनुमान छ ।’