काठमाडौं := नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै नेकपा एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गर्नुभएको छ । १० बुँदे कार्यान्वयनको सन्दर्भमा एमालेमा देखिएको विवादमा उहाँले टिप्पणी गर्नुभएको हो ।
एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा शनिबार आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताउनुभयो । विगतमा आफ्नै समूहमा रहेका तर १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूप्रति उहाँले व्यंग्य गर्नुभएको हो ।
एमालेमा बस्नका लागि अध्यक्ष केपी शर्मा ओलीको ‘आदेश पालन’ गर्नुपर्ने नभए कुनै मर्यादा नरहने उहाँको भनाइ थियो । नेता नेपालले भन्नुभयो, ‘एमालेमा आदेश पालन ग¥यो भने बस्न पाउँछ, आदेशको पालन गरेन भने कति ट्याउँ ट्याउँ गरेको ? कति ट्याउँ ट्याउँ गरेको ? १० बुँदे, भनेर सुन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीहरूको कस्तो हरिबिजोग ।’ ओलीको कुनै छलफल नगर्ने, कसैको सम्मान नगर्ने कारणले नै आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको उहाँले बताउनुभयो ।
एमालेलाई अहिलेको अवस्थामा पुर्याउन आफ्नो भूमिमा महत्वपूर्ण रहेको भन्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यो पार्टी कसैले बनाएको होइन, हामीले बनाएका हौँ । दाबाका साथ म भन्दै छु ।’ अहिले नेतृत्वमा रहेकाहरू ३१ सालमा कोअर्डिनेसन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा, क्रान्तिकारी अपिल जारी गर्ने बेलामा कहाँ थिए ? भन्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘कोअर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी जारी गर्दाखेरि, पोलिटब्युरो घोषणा गर्दाखेरि त्यसबेलाका योद्धाहरूमध्ये अहिले पनि मुकुन्द न्यौपाने हाम्रो साथमा हुनुहुन्छ, झलनाथ खनाल हाम्रो साथमा हुनुहुन्छ । म तपाईंहरूको साथमा छु । ३४ सालमा पुष्पलाल समूहबाट विद्रोह गरेर आएका जीवराज आश्रित हुनुहुन्न अहिले । मोदनाथ प्रश्रित हामीसँगै हुनुहुन्छ । मदन भण्डारी हुनुहुन्न ।’ नेपालले एमालेको संस्थापक आफैँ भएको बताउँदै त्यतिबेला केपी ओली कहीँ नदेखिएको पनि दाबी गर्नुभयो ।
गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउँदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गर्नुभएको थियो । शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनशाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनुभएको छ । त्यसको भोलिपल्ट शनिबार नेपालले उहाँहरूप्रति व्यंग्य गर्नुभएको हो ।
पार्टीको आधार संगठन मानिने वडाको अधिवेशन सुरु हुने एक दिनअघि एमाले बैठकमा पार्टीको विवाद बल्झिएको हो । असार २७ गते गरेको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष ओली नै असहमति भएको भन्दै रावल असन्तुष्ट बन्नुभएको हो । रावललाई उपमहासचिव घनश्याम भुसालले साथ दिनुभएको छ । स्थायी कमिटीको दोस्रो दिन शुक्रबारको बैठकमा १० बुँदेको कुरा उपमहासचिव भुसालले उठाउनुभएको थियो ।



















