खोटाङ:= ‘प्रथम किराँती राजा यलम्बर हांग’ को पूर्णकदको सालिकसहित यलम्बर पार्क निर्माण गरिने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा एक सय फिट अग्लो यलम्बरको सालिकसहित पार्क निर्माण हुने भएको हो ।
सगरमाथा राजमार्गको गाईघाट-महुरे सडकखण्डमा पर्ने पञ्चदोबाटोमा निर्माण हुने सालिकको बुधबार किराँती परम्पराअनुसार धामी (नछुङ) बाट विधि गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले शिलान्यास गर्नुभयो ।
३३ रोपनी सरकारी जग्गामा निर्माण हुने सालिक निर्माणको ठेक्का उमा तुवाचुङ अनसुवी जेभीले पारेको छ । प्रदेश सरकार र नगरको संयुक्त लगानी १० करोड १० लाख लागतमा निर्माण हुने सालिक फाइबरको बनाइनेछ । कंक्रिट पिल्लरमा फलामको सपोर्ट राखेर यलम्बरको सालिक राखिने तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले बताउनुभयो । राईका अनुसार आत्मघर र बगंैचा पनि निर्माण गरिनेछ ।
यलम्बर हांगले गोपाल वंशलाई पराजित गर्दै पाँच हजार ८१ वर्ष पहिला देशको शासनसत्ता चलाएकोे इतिहासमा उल्लेख गरिएको पाइन्छ । यलम्बरलाई सामाजिक शुद्धीकरणका काम गर्ने लोकतान्त्रिक राजाको नामले पनि चिन्ने गरिन्छ ।




















