यू-२३ फुटबल टिम ताजिकिस्तान प्रस्थान।

काठमाडौं:= एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको हो ।

छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय नेपाली टिमको घोषणा गर्नुभएको थियो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै, दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटअघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटमा ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

नेपाली टिममा अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अभिषेक लिम्बू, नितिन थापा, सुरजज्यु ठकुरी, आयुश घलान, सेसेहाङ आङ्देम्बे, राजिव लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट रहनुभएको छ ।