टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै स्कटल्यान्डसँग बंगलादेश पराजित।

एजेन्सी := युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै बंगलादेशले हार व्यहोरेको छ। ओमानस्थित अल अमरेत मैदानमा स्कटल्यान्डसँग बंगलादेश ६ रनले स्तब्ध बनेको हो।

स्कटल्यान्डले दिएको १ सय ४१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बंगलादेश निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमै समेटि पुग्यो । बंगलादेशका लागि मुश्फिकर रहिमले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै, शकिब अल हसनले २० रन, कप्तान महमुदउल्लाहले २३ रन तथा अफिफ होसेनले १८ रन जोडे।

स्कटल्यान्डका लागि ब्राड व्हिलले ३ विकेट, ग्रिभ्सले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो । स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ४५ रनको आक्रामक इनिङ खेलेका थिए । त्यस्तै, जर्ज मुन्सेले २९ रन तथा मार्क वाटले २२ रन बनाए।

बंगलादेशका लागि मेहेदी हसनले ३, शकिब अल हसन र मुस्ताफिजुर रहमानले २-२ तथा तस्किन अहमद र मोहमद सैफुदीनले १-१ विकेट हात पारे । यसअघि विश्वकपको पहिलो चरण अन्तर्गत ओमानले पपुवा न्युगिनीमाथि १० विकेटकाे विजयी सुरुआत गरिसकेको छ।