इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१को उपाधि चेन्नई सुपर किंग्सले जित्यो।

एजेन्सी := चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि हात पारेको छ । गएराति भएको फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक उपाधिमा कब्जा जमाएको हो ।

जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकता निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रनमा समेटियो । कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रन र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २–२ विकेट लिँदा डवेन ब्राभो र दीपक चाहरको नाममा १-१ विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो ।

चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रनको योगदान दिए । मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन तथा रोबिन उथप्पाले ३१ रन बनाए ।कोलकता स्पिनर सुनिल नारिनेले २ विकेट लिँदा शिवम माभीले १ विकेट लिए ।