एउटै गीतमा १३ लाख लगानी।

काठमाडौं:= नेपाली कला क्षेत्रलाई औधि मनपराउने दीपेन्द्र बुढा ठकुरीले पहिलो पटक गीतमा लगानीसँगै गाउने, र मोडलिङ गर्ने काम गर्नुभएको छ । पेशाले व्यावसायी दीपेन्द्रलाई पहिल्यैदेखि गीतसंगीतमा होमिने मन थियो । साथीभाइले स्वर राम्रो छ केही गर्नुपर्छ भन्ने हौसला दिने र आफूलाई सानैदेखि गीत गाउनमा निकै इच्छा लाग्ने भएकाले गीत गायनमा अगाडि बढेको दीपेन्द्रले बताउनुहुन्छ ।

त्यही इच्छाका कारण अहिले नेपाली सांगीतिक बजारमा दीपेन्द्रकै स्वर, लगानी र अभिनयमा रहेको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । गत मंगलबारको कुरा हो, गीत रिलिज गर्नकै लागि काठमाडौंबाट दीपेन्द्रको टिम पोखरा पुगेको थियो । केही फरक गर्ने कोसिसका साथ आफूहरू गीत रिलिज कार्यक्रम पोखरामा गरिएको दीपेन्द्रले बताउनुभएको छ ।

पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियोसहितको गीत ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतमा संगीतसँगै एरेन्ज गर्नुभएका अर्जुन थापासँगै प्राविधिक टिम पनि पुगेको थियो । कार्यक्रममा पोखराका स्थानीय सञ्चारमाध्यामदेखि राष्ट्रिय सञ्चारमाध्यामका सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

निर्माता, गायक तथा भिडियोका कलाकार दीपेन्द्रले अडियो र भिडियोलाई राम्रो बनाउँदै लैजानेक्रममा १३ लाख रूपैयाँ लगानी भइसकेको जानकारी गराउनुभयो । ‘गीत राम्रो बनाउनमा कुनै कुराको कमी नगरौं भन्ने भयो, त्यसैले भिडियो बाहिर आएपछि प्रमोशनसम्मको खर्च १३ लाख पुगेको हो’, दीपेन्द्रले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘हामीले महँगो लोकेसनदेखि, कलाकार र भिडियोमा हेलिकप्टर पनि प्रयोग गरेका छौं त्यसैले खर्च बढी भएको हो ।’

पछिल्लो समय युट्युब केन्द्रित भिडियो बनिरहेका छन् । भिडियोको लगानी सुरक्षित गर्ने माध्यम छ त ? बालुवामा पानी खनाएजस्तै भएनर भन्ने प्रश्नमा दीपेन्द्र भन्नुहुन्छ, ‘मैले यो भिडियोबाट पैसा कमाउँला भनेर लगानी गरेको होइन । गीतसंगीत क्षेत्रमा पहिल्यैदेखिको इच्छा र यो क्षेत्रमा पनि केही योगदान होस् भनेर लगानी गरेको हुँ । पैसा कमाउनका लागि अन्य व्यवसाय छँदैछ ।’

निर्देशक अर्जुनले आफ्नो टिमले सक्दो मिहिनेतका साथ काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भिडियोमा सकेसम्म कुनै कुराको कमी हुन दिएका छैनौं । प्राविधिकदेखि कलाकारको टिमले उत्तिकै मिहिनेत गर्नुभएको छ । निर्माताको हिसाबबाट दीपेन्द्र जी ले कुनै कम्प्रमाइज गर्नुभएको छैन । भिडियोमा वरिष्ठ कलाकार नीर शाह र लोकप्रिय नायिका केकी अधिकारीको मुख्य अभिनय छ । भिडियोमा सुशील डाँगीको छायांकन छ भने विवेक सुनारले सम्पादन गर्नुभएको हो । भिडियोको निर्मात्री मीना श्रेष्ठ हुनुहुन्छ ।

भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साट्नुभयो । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो ।

युट्युबमा यस गीतको पाँच दिनसम्मको भ्युज हेर्ने हो भने पाँच लाख पुगेको छ । भ्युज र लोकप्रियताको हिसाबमा हेर्ने हो भने गीत सफल भएको मान्न भने सकिन्न । यस गीतले सफलता हासिल नगरे पनि यही टिमले अर्को गीत गर्ने तयारी गरिसकेको छ । दीपेन्द्रका अनुसार केही समयमै अर्को गीतमा काम गर्ने तयारी भइरहेको छ।