काठमाडौं:= पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सर्वसाधारणलाई दशैँको टीका नलगाइदिने हुनुभएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो।
पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा पनि नगर्ने जनाइएको छ । सूचनामा भनिएको छ, ‘पूर्व श्री ५ महाराजधीराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन गरी बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ।’
पूर्वराजा शाहले विजयादशमीको दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहँदै आएकोमा गतवर्ष पनि स्थगित गरिएको थियो । कोरोनाको असहजताका कारण यसवर्ष पनि स्थगित गरिएको छ ।



















