म्याड्रिड:= स्पेनिस ला लिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ । अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ठ प्रदर्शन गरिरहनुभएको छ । रियलमा अहिले यी दुईको जोडी खास जमेको छ ।
रियलले ला लिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसक्नुभएको छ । सात खेलमा आठ गोल गरेका बेन्जेमाले सात असिस्ट पनि दिए । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सूचीमा हुनुहुन्छ । पाँच गोल गरेका भिनिसियस दोस्रो स्थानमा हुनुहुन्छ । भिनिसियसले सात खेलमा पाँच गोल गर्दै दुई असिस्ट दिनुभएको छ । च्याम्पियन्स लिगमा सेरिफ टिरास्पोलसँगको खेलको नतिजा धिर्सने हो भने रियलको प्रदर्शन दमदार बनिहेको छ । मंगलबार च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियल सेरिफ टिरास्पोलसँग २-१ गोलले पराजित भएको थियो । उक्त खेलमा बेन्जेमाले नै गोल गर्नुभयो ।
सर्वकालीन खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल छाडे यता रियलको कमाण्ड सम्हाल्ने काम उनै बेन्जेमाले गर्नुभएको थियो । ३३ वर्षीय फ्रेन्च स्ट्राइकर बेन्जेमाले हरेक खेलमा आफूलाई थप ऊर्जावान बनाइरहनुभएको छ । सन् २००९ देखि रियलको जर्सी लगाएका बेन्जेमाले ला लिगामा मात्र व्यक्तिगत दुई सय गोल गरिसक्नुभएको छ ।
उहाँ रियलमा सर्वाधिक गोलकर्ताको सूचीमा भने पाँचौं स्थानमा हुनुहुन्छ । बेन्जेमाले रियलमा दुई सय ८८ गोल गरिसक्नुभएको छ । चौथो स्थानमा उक्लन उहाँलाई अब दुई गोलको खाँचो छ । चौथो स्थानमा रहेका कार्लोस कासटिलानाको नाममा दुई सय ९० गोल छ ।
रियलमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सूचीमा रोनाल्डो हुनुहुन्छ । सन् २००९ देखि २०१८ सम्म नौ वर्ष रियलमा बिताएमा रोनाल्डोले रियलका लागि चार सय ५१ गोल गर्नुभएको छ । ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान रोनाल्डोकै नाममा छ । रोनाल्डोले ला लिगामा तीन सय १२ गोल गर्नुभएको छ । दोस्रो स्थानमा रहेका राउल गोन्जालेजले तीन सय २३ र तेस्रो स्थानमा रहेका अल्फ्रेडो डि स्टेफानोले ३०८ गोल गर्नुभएको छ ।
रियलमा बेन्जेमालाई अग्रपंक्तिमा बलियो साथ भिनिसियस जुनियरले दिइरहनुभएको छ । ला लिगामा रियलको यो जोडीलाई हल्लाउन अहिले जुन कुनै टोलीको रक्षापंक्तिलाई हम्मेहम्मे परिरहेको छ । २१ वर्षीय ब्राजिलियन विङगर भिनिसियस सन् २०१८ देखि रियलमा हुनुहुन्छ । उहाँले रियलको सिनियर टोलीबाट ८९ खेलमा १३ गोल गर्नुभएको छ । बेन्जेमासँग उत्कृष्ट तालमेल मिलाई रहेका भिनिसियसलाई यससिजन व्यक्तिगत गोल संख्या बढाउने राम्रो मौका छ ।
स्पेनिस ला लिगाका आठौं चरणको खेल शुक्रबार रातिदेखि सुरु हुँदैछ । शीर्षटोली रियलले भने आठौं चरणको खेल अक्टोबर ३ तारिख स्पान्योलसँग खेल्नेछ । लिगमा रियलले १७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ । तेस्रो स्थानमा रहेको सेभिया र चौथो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडको समान १४ अंक छ ।




















