सेलायो साझा उम्मेदवार बनाउने मुद्दा, संस्थापनइतरका चारै नेता सभापतिमा भिड्ने संकेत।

काठमाडौं:= नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरका सभापतिका आकांक्षीहरू एक्लाएक्लै भिड्ने संकेत देखिएको छ । साझा उम्मेदवार बनाउने भन्दै पटक-पटक छलफल गरे पनि सहमति नभएपछि नेताहरू एक्लाएक्लै भिड्ने देखिएको हो । रामचन्द्र पौडेल समूहबाट स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व-महामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका अकांक्षी हुनुहुन्छ ।

झण्डै एक महिनाअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले पत्रकार सम्मेलन गरेर आफूहरूले साझा उम्मेदवार चयन गर्ने घोषणा गरेको थियो । जहाँ सभापतिका आकांक्षी चारैजना नेताहरू उपस्थित हुनुहुन्थ्यो । त्यसपछि पनि इतर समूहका नेताहरूले पटक-पटक छलफल गरे । तर, साझा उम्मेदवार छान्न सकेनन् । एकले अर्कोलाई स्वीकार गर्न सकेनन् । बरु एक्लाएक्लै सभापतिमा भिड्ने भन्दै अभिव्यक्ति दिन थालेका छन् ।

महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट पछि नहट्ने दोहो¥याइरहनु भएको छ । उहाँले केही दिनअघि मात्रै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेकोे जिकिर गर्नुभयो । ‘म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछुु,’ गत शनिबार उहाँको भनाइ थियो । वर्तमान सभापति शेरबहादुर देउवालाई आफूले मात्रै हराउन सक्ने उहाँको दाबी छ । यसले पनि उहाँ पछि नहट्ने संकेत गर्छ । ‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न ।

कोइराला मात्रै होइन नेता प्रकाशमान सिंहले त सभापतिमा उम्मेदवारी दिने झण्डै घोषणै गर्नुभयो । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको उहाँको भनाइ छ । ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैैन । मैले अनुभव बोकेको छु, देखेको छु । पार्टीमा आमूल परिवर्तन ल्याउन ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ । अबचाँहि ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेसलाई संस्थागत गर्छु,’ केही दिनअघि घोषणा गर्नुभएका नेता सिंहले बुधबार पनि सोही कुरा दोहो¥याउनुभयो ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूले नेतृत्व लिन चाहेको दोहोर्‍याउनुभयो । पार्टीलाई विधि र विधानसम्बत् चलाउन पनि आफू नेतृत्वमा जान चाहेकोले सहयोग गर्न नेता कार्यकर्तालाई अपिल गर्नुभयो । त्यस्तै, नेता शेखर कोइरालाले पनि आफू पछि नहट्ने दोहोर्‍याइरहनु भएको छ । केही दिनअघि गृहजिल्ला पुग्नुभएका कोइरालाले आफू सभापतिमा लड्ने निर्णयबाट पछि नहटेको सार्वजनिक सार्वजनिक गर्नुभएको थियो । कोइरालाद्वय र सिंह मात्रै होइन वरिष्ठ नेता पौडेल पनि टसमस हुनुभएको छैन । संस्थापनइतरका सबै नेताले आफूलाई सहयोग गर्नुपर्ने उहाँको अडान छ ।

सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने कुरामा संस्थापनइतर समूह एकमत छ । तर, देउवाको विकल्प को ? नेताहरूका आ–आफ्नै दाबी छन् । यसरी आकांक्षीहरूका आ–आफ्नै दाबी दोहो¥याइरहँदा सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना धेरै कम छ । पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता साझा उम्मेदवार खोज्नुको सट्टा आ–आफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन् । तर, अहिलेसम्म कसैले पनि आफ्नो दाबी छाड्ने संकेत भने देखिएको छैन ।

यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिन्छ । यस्तै, स्थितिमा साझा उम्मेदवार छनोट गर्न मुस्किल हुने कतिपय नेताहरूको बुझाइ छ । तर, पौडेल पक्षकी नेतृ सरिता प्रसाईं साझा उम्मेदवार बनाउने विषय अधिवेशनका कारण केही दिन ओझेलमा मात्रै परेको बताउनुहुन्छ । संस्थापनइतरबाट एक मात्रै साझा उम्मेदवार बनाउने विषयमा नेताहरू सहमत रहेको भन्दै यसको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले अधिवेशनका कारण नेताहरू जिल्ला जिल्लामा रहेकाले फर्किनेबित्तिकै पुनः छलफल सुरु हुनेछ । ‘संस्थापनइतरबाट साझा उम्मेदवार बनाउने विषय सेलाएको छैन । नेताहरू अधिवेशनका दौरान जिल्ला जिल्लामा पुगेकाले केही दिन सेलाएको मात्रै हो,’ उहाँले भन्नुभयो, ‘साझा उम्मेदवार बनाउने विषयमा नेताहरू सहमत हुनहुन्छ । अब नेताहरू जिल्लाबाट फर्केपछि पुनः छलफलले निरन्तरता पाउँछ ।’ यस्तै, कांग्रेसको आगामी महाधिवेशमा सभापतिका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

थप तीन जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक 

नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ । कांग्रेसले धनुषा, सर्लाही र कैलालीको सदस्यता विवाद टुंग्याएर विवरण सार्वजनिक गरेको हो । तीनै जिल्लाकोे क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिलाई समेत बुझाइसकिएको छ । अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।

हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ एकैदिन वडा अधिवेशन प्रारम्भ गरिने निर्वाचन समिति सदस्य महादेशप्रसाद यादवले बताउनुभयो । पार्टीले यसअघि नै गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।