उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार।

एजेन्सी := उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय–समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

जापान सरकारका एक अधिकारीले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ । जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्नसक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तरले भने प्रारम्भिक रूपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको छैन । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयअघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।

उत्तर कोरियाली राजदूतले राष्ट्रसंघीय महासभामा अमेरिकाले प्योङयाङप्रति होस्टाइल पोलिसी त्याग्न आग्रह गरेको केही घण्टामै यस्तो मिसाइल परीक्षण भएको हो । राजदूतले आत्मरक्षाको अधिकारका लागि उत्तर कोरियाले मिसाइल परीक्षण गर्ने आशयको अभिव्यक्ति राष्ट्रसंघमा दिएका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको पछिल्लो कदमलाई विश्लेषण गर्न सहयोगीलाई निर्देशन दिनुभएको छ ।

‘कोरियाली प्रायद्वीपलाई स्थायित्व राख्न प्रयास गरिरहेको बेला मिसाइल परीक्षण हुनु निकै दुःखद छ’ दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता बो सियोङ चानले रोयटर्ससँग भन्नुभएको छ । यो परीक्षणलाई लिएर अमेरिकी स्टेट डिपार्टमेन्टले आपत्ति जनाएको छ । हिन्द प्रशान्त क्षेत्रमा उत्तर कोरियाको यो परीक्षणले थप अस्थिरता ल्याउने भन्दै अमेरिकाले विरोध जनाएको छ ।