रिहा भएलगत्तै हुवावेइकी उच्च अधिकारी चीन फिर्ता।

टोरन्टो:= क्यानडामा पक्राउ पर्नुभएकी चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेइकी उच्च अधिकारी मेंग वाञ्जु अमेरिकासँगको एक सम्झौतालगत्तै चीन फर्किनु भएको छ । हुवावेइकी आर्थिक मामिला प्रमुख वाञ्जु सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ पर्नुभएको थियो ।

ठगीको आरोपमा पक्राउ पर्नुभएकी हुवावेइका संस्थापककी छोरी वाञ्जुलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । वाञ्जु पक्राउसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उहाँको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिएलगत्तै उहाँ रिहा हुनुभएको थियो । वाञ्जुको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो ।

चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताउनुभएको छ । वाञ्जु पक्राउ परेलगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो ।

‘यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रहृयो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ’, क्यानडामा थुनामुक्त भएपछि वाञ्जुले सम्वाददातासँग भन्नुभएको छ, ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन ।’ एएफपी समाचार संस्थाका अनुसार लगत्तै वाञ्जु एयर चाइनाको विमानमार्फत सेन्जेन सहर फर्किनु भएको थियो ।

चीन र अमेरिकाबीच जारी द्वन्द्व अन्त्यका लागि यो कदम प्रभावकारी हुने अधिकारीले अनुमान गरेका छन् । वासिंटन र वेजिङबीचको वर्षौंदेखिको कूटनीतिक टकराव अन्त्यका लागि वाञ्जुको मुद्दा फिर्ता प्रभावकारी हुने बताइएको छ ।

अमेरिकाको वारेन्टमा सन् २०१८ मा वाञ्जुलाई भ्याकुभर अन्तर्राष्ट्रिय विमानस्थबाट गिरफ्तार गरिएको थियो । सन् २०१३ मा उहाँमाथि इरानमा दूरसञ्चार उपकरणको व्यापारिक कारोबारका क्रममा बैंक र तार ठगिको आरोपमा दोषी ठहर गरिएको थियो । वाञ्जुको गिरफ्तारीसँगै क्यानडासमेत सो प्रकरणमा विवादमा तानिएको थियो । अमेरिकी अधिकारीले वान्जुले आफूमाथि लागेको आरोप स्वीकार गरेसँगै मुद्दा फिर्ता लिइएको बताएका छन् । तर, हुवावेका प्रवक्ताले भने अमेरिकी अधिकारीहरूको दाबीको खण्डन गरेका छन् ।