परदेशी रिजालको ‘चाँदनी’ गीत युट्युबमा सार्वजनिक।

काठमाडौं := नेपाली गीतसंगीतको क्षेत्रमा प्रतिभाशाली कलाकारका रूपमा चिनिनुभएका गायक केशव रिजालले आफ्नो नयाँ कोशेलीका रूपमा ‘चाँदनी’ गीत सार्वजनिक गर्नुभएको छ । नेपाली गीतसंगीतको बजारमा दैनिक थुप्रै गीत सार्वजनिक भइरहँदा दर्शकको आँखामा पर्ने केहीमात्र गीत हुन्छन् अर्थात मनमुटुमा सबै गीत बस्दैनन् । तर, पछिल्लो समय दर्शक तथा श्रोताको मागअनुरूपको गीत बनेकोमा गायक रिजाल विश्वस्त हुनुहुन्छ ।

गीतमा रिजालसँगै लोकप्रिय गायिका शान्तिश्री परियारको स्वर रहेको छ । रमेश परियारले शब्द सिर्जना गर्नुभएको छ भने ईश्वर सिंहले गीतको भाका सिर्जना गर्नुभएको हो । मौसम हिमालीको निर्देशन रहेको यस गीतको सम्पादन मनोज कार्कीले गर्नुभएको हो । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन छ । भिडियोमा लोकप्रिय गायक रामजी खाँण र गीता ढुंगानाको अभिनय छ ।

विगत केही वर्षयता वैदेशिक रोजगारको सिलसिलामा अमेरिकाको क्यालिफोर्नियामा रहनुभएका रिजाल करिब एक दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । पर्वतको पाङ्मा जन्मिनुभएका रिजालले ‘हिमालको काखबाट सेती बग्यो’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्राको सुरुवात गर्नुभएको हो ।

त्यसयता आफ्नो स्वर, लय तथा शब्द सिर्जनामा थुप्रै गीतहरू बजारमा ल्याइसक्नुभएको छ । उहाँका सिर्जना तथा स्वरमा ‘हिमालको काख’, ‘कोदो’, ‘नौजाले’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।