आज विश्वकर्मा पूजा तथा वास्तु दिवस, राष्ट्रिय चलचित्र दिवस र राष्ट्रिय विज्ञान दिवस।

काठमाडौं:= आश्विन संक्रान्तिका दिन आज हिन्दु धर्मावलम्बीहरुले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने गरिन्छ । विश्वकर्मा पूजा प्रविधि र मेसिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो । अश्विन संक्रान्तिको दिन भगवान् विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा पनि मानिन्छ । यसै कुरालाई मध्यनजर राख्दै एकै दिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

यस्तै, असोज १ गते नेपालका चलचित्रकर्मीहरूले ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने गर्दछन् । नेपाल चलचित्र विकास बोर्डको पहलमा २०६८ साल असोज १ गतेबाट मनाउन थालिएको यो दिवसले त्यसयताका प्रत्येक असोज १ मा निरन्तरता पाइरहेको छ । चलचित्र ‘आमा’को २०२२ असोज २२ गते रिलिज मितिको सन्दर्भलाई जोड्दै असोज १ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउन सुरु गरेको थियो ।

वि.सं. २००७ सालमा डिबी परियारको निर्देशनमा चलचित्र ‘सत्य हरिश्चद्र’ निर्माण भएको थियो । भारतको कलकत्तामा यो चलचित्र निर्माण भए पनि नेपालमै निर्माण भएको चलचित्र ‘आमा’लाई नेपालको पहिलो चलचित्र मानिँदै आएको छ । विक्रम सम्वत् २०२१ मा चलचित्र ‘आमा’मा रेडियो नेपालका तत्कालीन गायक र संगीतकार शिवशंकर मानन्धर अनि भुवन चन्दले नायक नायिकाको भूमिका देखिनुभएको थियो ।

त्यस्तै, आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । विसं २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै आइएको छ । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मंसिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो । त्यसैअनुसार यो दिवस मनाउँदै आइएको छ ।

यस वर्ष यो दिवस ‘विज्ञान र प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूलनाराका साथ मनाइँदै छ । दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधि विधामा विभिन्न पुरस्कार पनि घोषणा गरिँदै छ ।