बलिउड चलचित्र ‘द इन्कारनेसन-सीता’ मा अब कंगना फाइनल।

मुम्बई:= बलिउड चलचित्र ‘द इन्कारनेसन-सीता’ निर्माण अगावै चर्चामा छ । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उहाँले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो ।

अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ । यो खबरलाई पुष्टि गर्दै चलचित्रको निर्माण गरिरहेकी एसएस स्टुडियोको निर्मात्री सलोनी शर्मा भन्नुहुन्छ, ‘एक महिलाको नाताले म कंगनालाई स्वागत गर्न पाउँदा निकै खुशी छु । चलचित्र ‘द इन्कारनेसन सीता’मा कंगनाले भारतीय महिलाको निडर छवि दर्शाउने छिन् ।’

यता अभिनेत्री कंगनाले पनि चलचित्रको पोस्टर शेयर गर्दै यसबारे जानकारी दिएकी छन् । कंगना लेख्नुहुन्छ, ‘सीता रामको आर्शिवादको साथमा चलचित्र ‘द इन्कारनेसन सीता’मा टाइटल भूमिका पाएकोमा र प्रतिभावान टिमसँग काम गर्न खुशी छु । जय सीता राम !’