एजेन्सी := यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ।
प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए । यसै साता सम्पन्न लिग खेलमा भने मेस्सी र नेयमारले विश्वकप छनोट खेलेका कारण विश्राम लिएका थिए।
क्लब ब्रुगको मैदानमा हुने खेलमा भने मेस्सी पहिलो पटक सुरुवाती रोजाइमा खेल्दैछन् । प्रशिक्षक पोचेटिनोले आक्रमणमा तीन खेलाडीलाई सघाउन मिडफिल्डमा आन्दर हरेरा, जिओर्जिनिओ वाइनाल्डम र लिआन्द्रो पारेडेसलाई उतारेका छन् । डिफेन्समा अबोउ डिआलो, मार्किन्हस, प्रेस्नेल किम्पेम्बे र अक्रफ हाकिमी छन् । गोलरक्षकमा केलर नाभास रहेका छन्।
वैकल्पिक खेलाडीमा यसै सिजन क्लब आएका इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्मा, थिलो केहरर, नुनो मेन्देस, ड्यानिलो, जुलियन ड्राक्सलर, माउरो इकार्डी लगायत खेलाडी रहेका छन् । चोटका कारण डिफेन्डर सर्जियो रामोस भने अझै टोलीमा समावेश भएका छैनन्।




















