काठमाडौं:= प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद पारेका थिए ।
तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनु भएको थियो।
सो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नु भयो । यस अघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सूचारु हुन नदिने अडान राख्नु भएको थियो ।
उहाँले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको पनि पटकपटक दोहो¥याउनु भयो ।
एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्म शमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। गत भदौं २६ गते काठमाडौंमा निधन हुनु भएका उहाँ २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित हुनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौं ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।




















