डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको थियोः दीपिका पादुकोण।

मुम्बई:= नायिका दीपिका पादुकोणले अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति’मा पुगेर आफू डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाउनु भएको छ । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुग्नु भएकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गर्नुभयो ।

उहाँले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताउनु भएको थियो । डिप्रेशन भएको कसरी थाहा भयो भनेर अमिताभले सोधेको प्रश्नको दीपिकाले भन्नुभएको छ, ‘मलाई काम गर्न मन लाग्न छाडेको थियो । मलाई कोही पनि मानिसँग भेटघाट गर्न मन लाग्दैनथ्यो । मैले आफूभित्र निक्कै एक्लोपना महसुस गर्थेँ । कहिलेकाही जीवन जिउनुको कारण नै केही छैनजस्तो लाग्थ्यो । यो जिन्दगीबाट मेरो मन सकिएको थियो ।’

दीपिकाले सो समयमा आफू निक्कै रोएको बताउनुभयो । उहाँले अघि भन्नुभएको छ, ‘जब मेरी आमाले मेरो अवस्थाको बारेमा थाहा पाउनुभयो । यसपछि एकजना डाक्टरसँग भेट्नुपर्छ भनेर उहाँँले नै पहल गर्नुभएको हो ।’ नायक रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका डिप्रेशनको शिकार बन्नुभएको थियो । पछि, नायक रणवीर सिंहसँग भेट भएपछि दीपिका विस्तारै यो रोगबाट बाहिर निस्किनु भएको थियो ।