सरकारले नुन कारोबार निजीलाई नदिने।

काठमाडौं:= नुन कारोबारमा निजी क्षेत्रको संलग्नता आवश्यक नरहेको सरकारले जनाएको छ । अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत् नुनको कारोबार निजी क्षेत्रलाई खुला गरेको थियो तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले नुन कारोबारमा निजी क्षेत्रको संलग्नता आवश्यक नरहेको भन्दै सोहीअनुसार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको ५९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा पहिलोपटक सार्वजनिक निजी साझेदारीमा विसं २०२० भदौ २७ मा स्थापित कर्पोरेसनले दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, मैदा पिठो, चिनी, मसला, खाने तेललगायत ग्यास, रासायनिक मल तथा गहुँको बिउ बिक्री गर्दै आएको छ । सरकारले नुनको कारोबारको जिम्मा कर्पोरेसनलाई मात्र दिएको छ । कर्पोरेसनका अनुसार १० महिनालाई पुग्ने नुन मौज्दात छ।

कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय दैनिक उपभोग्य वस्तुलाई सहज, सरलरूपमा कर्पोरेसनले जनतासम्म पुर्‍याउँदै आएको जानकारी गराउँदै महामारीका समयमा ‘जहाँ, अप्ठ्यारो त्यहाँ साल्ट ट्रेडिङ कर्पोरेसन’ भन्ने नारालाई प्रमाणित गरेको बताउनुभयो । कर्पोरेसनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन कर्पोरेसन चनाखो रहेको भन्दै महामारीमा उपभोक्ताका घर-घरमा मागअनुसार अत्यावश्यक वस्तु सुलभरूपमा आपूर्ति गरिएको बताउनुभयो ।